काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा संकलन गर्ने वा गर्न प्रोत्साहन गर्ने गतिविधि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।
हाल केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको नाममा विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग्दै हिँडेको जानकारी प्राप्त भएपछि कार्यालयले विज्ञप्ति जारी गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवम् प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलनका लागि कसैलाई पनि अनुमति दिइएको छैन।
शर्माले यस्तो भ्रामक कार्यमा नफस्न र कसैले प्रधानमन्त्रीको नाममा चन्दा मागेमा पूर्ण रूपमा अस्वीकार गर्न आग्रह गरेका छन्। साथै, प्रधानमन्त्रीको नाम प्रयोग गरी चन्दा माग्ने वा यस्तो गतिविधि प्रोत्साहित गर्ने व्यक्ति वा समूह फेला परेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ।
फोटो : नेपालप्रेस