काठमाडौं । काठमाडौं महानगरपालिका–९ अन्तर्गत सिनामंगल क्षेत्रको गैरीगाउँमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ। कारखाना छेउमै रहेको टहरोमा एक्कासि आगो लागेपछि आसपासको क्षेत्र तनावग्रस्त बनेको थियो।
आगलागीबाट उठेको बाक्लो धुवाँ टाढैबाट देखिएपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले तत्काल दमकल परिचालन गरेको जनाएको छ। आगो नियन्त्रणका लागि दमकलसहित सुरक्षाकर्मी परिचालित छन्।
प्रहरीका अनुसार आगलागीको स्पष्ट कारण अहिलेसम्म खुलेको छैन। घटनास्थलमा अनुसन्धान भइरहेको जनाइएको छ।
विमानस्थल नजिकै आगलागी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष क्षति नभएको विमानस्थल कार्यालयले स्पष्ट पारेको छ। यद्यपि, धुवाँको प्रभावका कारण केही जहाजहरू अस्थायी रूपमा ‘होल्ड’ मा राखिएको जानकारी दिइएको छ।
आगलागीबाट मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभए पनि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको यकिन विवरण सार्वजनिक हुने जनाइएको छ।