लम्जुङ्ग - नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङले सोमबारदेखि ३ महिने तरुण जागरण अभियान सुरु गरेको छ। तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा सुरु गरिएको यो अभियानले जिल्लाभर कांग्रेसको संगठन, जनसंपर्क र युवाको भूमिकामा नयाँ ऊर्जा भर्ने लक्ष्य राखेको छ।
कार्यक्रमको शुभारम्भ गर्दै तरुण दल लमजुङका अध्यक्ष कुम रासी गुरुङले भने,
“यो अभियान केवल कार्यक्रम होइन, युवाको चेतना र संगठन सुदृढीकरणको यात्रा हो। लमजुङका हरेक गाउँ र शहरमा कांग्रेसको विचार, नीति र भविष्यप्रति विश्वास जगाउने हाम्रो अभियान अब निरन्तर रूपमा अघि बढ्नेछ।”
अध्यक्ष गुरुङको गतिशील नेतृत्वमा सुरु भएको उक्त अभियानले लमजुङका चारवटै नगरपालिका र चारवटै गाउँपालिकामा व्यापक जनसंपर्क र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
स्थापना दिवसको अवसरमा तरुण दलले राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाआश्रममा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी फलफूल तथा खाद्यान्न वितरण पनि गरेको थियो। समाजसेवा र राजनीतिक चेतनालाई जोड्दै गरिएको उक्त सुरुवातले युवामाझ सकारात्मक सन्देश फैलाएको छ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री तथा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ प्रमुख अतिथि थिए। साथै, पूर्व सभापति कृष्णप्रसाद कोइराला, जिल्ला सचिव कृष्णबहादुर अधिकारी, पूर्व उपसभापति गमप्रसाद गुरुङ, केन्द्रीय सदस्य बृषराज गुरुङलगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
केन्द्रीय सदस्य बृषराज गुरुङले भने,
“अध्यक्ष कुम रासी गुरुङको दूरदृष्टि र संगठनप्रतिको समर्पणले लमजुङमा तरुण दललाई नयाँ उचाइमा पु¥याएको छ। यो अभियान आगामी निर्वाचनमा कांग्रेसको जनमत निर्माणमा ऐतिहासिक भूमिका खेल्नेछ।”
स्थानीय युवाहरूले पनि अध्यक्ष गुरुङको नेतृत्वमा सुरु भएको अभियानले जिल्लामा राजनीतिक सचेतना, संगठन विस्तार र युवा एकतालाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्।
लम्जुङ्गका ऊर्जावान नेता कुम रासी गुरुङ हाल लमजुङमा युवाप्रेरणा र संगठनात्मक सशक्तीकरणको पर्याय बनेका छन्। उहाँको नेतृत्वमा सुरु भएको यो “तरुण जागरण अभियान” नेपाली कांग्रेसका युवाहरूका लागि एउटा ऐतिहासिक कदम सावित हुँदैछ।