श्रम संस्कृति पार्टीको कडा ह्वीप: अब हरेक सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिर्वाय!

ecopolinews.com

श्रम संस्कृति पार्टीका अध्यक्ष प्रतिनिधि सभा सांसद हर्क साम्पाङको राजनीतिक क्रेज र श्रम दर्शनलाई संस्थागत गर्न पार्टीले एक ठूलो साङ्गठनिक निर्णय लिएको छ। श्रम संस्कृति पार्टीले अबदेखि आफ्ना सम्पूर्ण औपचारिक तथा सार्वजनिक कार्यक्रमहरूमा पार्टीका मुख्य मार्गदर्शक हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा सबैले देखिने गरी अग्रभागमा राख्न कडा निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय तहबाट प्रवाह गरिएको यो नयाँ ह्वीप र साङ्गठनिक निर्देशनले राजनीतिक वृत्तमा नयाँ बहस र तरङ्ग पैदा गरिदिएको छ।

पार्टीको पछिल्लो आन्तरिक तथा विशेष निर्णयअनुसार देशभर सञ्चालन हुने साङ्गठनिक बैठक, आमसभा, श्रम शिविर तथा जुनसुकै सार्वजनिक कार्यक्रमहरूको मञ्चमा हर्क साम्पाङको फोटो अनिवार्य रूपमा सजाउनुपर्नेछ। साम्पाङले अघि सारेको श्रमको सम्मान, आत्मनिर्भरता, सुशासन र जनतासँग प्रत्यक्ष जोडिने भुइँमान्छेको रैथाने राजनीतिलाई सिङ्गो पार्टीको मूल मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गर्न यो कदम चालिएको पार्टी पंक्तिले प्रष्ट पारेको छ। तल्लो तहदेखि नै नेतृत्वको वैचारिक छाप बलियो बनाउन र आम सर्वसाधारणमा पार्टीको मूल विम्बलाई स्थापित गर्न यो निर्णय कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।

परम्परागत राजनीतिक दलहरूका शीर्ष नेताहरूको तस्बिर राख्ने प्रवृत्तिको आलोचना हुने गरे तापनि श्रम संस्कृति पार्टीले भने आफ्नै मौलिक ब्राण्ड र साङ्गठनिक अनुशासनलाई मजबुत बनाउन यो नीति अघि सारेको दाबी गरेको छ। पार्टीले आफ्ना मातहतका सातै प्रदेश, जिल्ला र स्थानीय कमिटीहरूलाई यो निर्देशनको अक्षरशः पालना गर्न र यसलाई साङ्गठनिक अनुशासनको मुख्य कडीका रूपमा लिन सचेत गराएको छ। हर्क साम्पाङको फोटो प्रदर्शन केवल एक व्यक्तिको पूजा वा सम्मान मात्र नभई उहाँले सुरु गर्नुभएको देशव्यापी श्रम क्रान्ति, दृढ इच्छाशक्ति र स्वावलम्बनको प्रतीकका रूपमा मञ्चहरूमा स्थापित गरिने दाबी श्रम संस्कृति पार्टीको छ।

प्रतिक्रिया