साउने सङ्क्रान्तिको अलौकिक महिमा : प्रकृति, संस्कृति र अध्यात्मको अनुपम सङ्गमबीच आज देशभर उल्लास

ecopolinews.com

काठमाडौँ - वैदिक सनातन हिन्दू परम्परामा अत्यन्तै उच्च महत्त्व बोकेको साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान र विविध अनुष्ठानका साथ भव्य रूपमा मनाइँदै छ । सौर्यमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने यस पावन दिनमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दछ । आजैका दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले यसलाई 'दक्षिणायन' को सुरुवात मानिन्छ । माघ १ गतेबाट सुरु हुने उत्तरायण र आजबाट सुरु हुने दक्षिणायनले मानव जीवन, ग्रहगोचर र प्रकृतिको गहिरो चक्रलाई प्रतिविम्बित गर्दै मानव जगतलाई अध्यात्मतर्फ डोर्‍याउने विशेष महत्त्व राख्दछ ।

नेपाली समाज मूलतः कृषिप्रधान रहेकाले असार महिनाभर मुरी उब्जाउन मानो रोप्ने चटारो हुन्छ । हिलोमैलो र शारीरिक परिश्रमको थकानलाई पखाल्दै निरोगी बन्ने उच्च कामनासहित आज साँझ परम्परागत रूपमा ‘लुतो फाल्ने’ अद्वितीय संस्कृति हाम्रो समाजमा सदिऔँदेखि जीवित छ । प्रा. डा. देवमणि भट्टराईका अनुसार, औषधीय गुणले भरिपूर्ण वनस्पतिहरू जस्तै— काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपाती सङ्कलन गरी कण्डारक नामक राक्षसको पूजा गर्ने र रोगव्याधि नष्ट होस् भनी अगुल्टो फाल्ने गरिन्छ । यसै बेला आ–आफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने प्रचलनले हाम्रा पूर्वजहरूको प्रकृतिपूजक, स्वास्थ्यप्रतिको सचेतना र वैज्ञानिक सोचलाई उजागर गर्दछ ।

साउन महिना केवल कृषिको थकान मेट्ने र शारीरिक शुद्धिको समय मात्र नभएर देवादिदेव महादेवको विशेष आराधना गर्ने अत्यन्त पवित्र महिना पनि हो । आजैदेखि देशभरका शिवालयहरू, विशेषगरी आराध्यदेव पशुपतिनाथ मन्दिरमा भगवान् शिवलाई जलार्पण गर्न र दर्शन गर्न भक्तजनहरूको अपार घुइँचो लाग्ने गर्दछ । प्रकृतिले नै चारैतिर हरियो बर्को ओढ्ने यो महिनामा महिलाहरू हरियो चुरा, पोते, मेहेन्दी र हरिया वस्त्रहरूमा सजिएर प्रकृतिको सौन्दर्यसँग एकाकार हुने गर्दछन् । यसले एकातिर मानव र प्रकृतिबीचको अटुट साइनोलाई दर्साउँछ भने अर्कोतिर सौभाग्य, सुस्वास्थ्य र समृद्धिको प्रतीकलाई झल्काउँछ । साउने सङ्क्रान्तिले हामीलाई केवल धार्मिक कर्मकाण्डमा मात्र सीमित राख्दैन, सम्पूर्ण मानव जातिलाई प्रकृतिलाई प्रेम गर्न र शारीरिक तथा मानसिक रूपमा शुद्ध भई सत्कर्ममा लाग्न निरन्तर प्रेरणा समेत प्रदान गर्दछ ।

प्रतिक्रिया