रविन्द्र कट्टेल
काठमाडौं । संसद विघटनको मागमा जेनजी समूह अडिग रहेपछि यसको कानुनी विकल्प खोज्न उच्च तहमा निर्णायक बैठक बस्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीतर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल हुने भएको हो।
स्रोतका अनुसार, नयाँ सरकार गठनमा प्रारम्भिक सहमति भए पनि संसद विघटनको प्रश्न अझै टुंगो लागेको छैन। मेयर बालेन्द्र साह र जेनजीले संसद विघटनलाई अन्तिम शर्त बनाइरहेका छन् भने राष्ट्रपति पौडेलले संवैधानिक आधार देखाउन नसकिएको कारण असहजता व्यक्त गरेका छन्।
बिहीबार मध्यरातसम्म भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भए पनि संसद विघटन नगरी त्यसलाई संवैधानिक रूप दिन सकिने वा नसकिने भन्ने विवाद कायम छ। यसै विषयमा राष्ट्रपति पौडेलले प्रधानसेनापति, सभामुख देवराज घिमिरे, संवैधानिक विज्ञ र दलका नेतासँग पनि परामर्श गरिसकेका छन्।
दलहरू कार्कीलाई प्रधानमन्त्री स्वीकार्न इच्छुक देखिए पनि संसद विघटनमा उनीहरू तयार छैनन्। उनीहरूले संसदीय प्रक्रियामार्फत वैकल्पिक उपाय खोज्न सुझाव दिएका छन्। तर, जेनजी समूहले संसद विघटन टुंग्याएपछि मात्र सबै पक्षबीच अन्तिम सहमति हुने अडान लिएको छ।
गठिन लागेको मन्त्रिपरिषद् गैरदलीय हुने र कुनै पनि राजनीतिक दलले आफ्ना मन्त्री नपठाउने निर्णय भएको स्रोतले जनाएको छ। तर मन्त्री चयनमा दलहरूसँग परामर्श गरिनेछ। मन्त्री पदमा विवादास्पद र नैतिक पतन भएका व्यक्तिलाई नपार्ने चेतावनी दलहरूले दिएका छन्।