रविन्द्र कट्टेल - काठमाण्डौ-नेपालको ऊर्जा क्षेत्रमा गैरआवासीय नेपालीहरूको पूँजी र सुझबुझपूर्ण लगानी कति फलदायी र रूपान्तरणकारी हुन सक्छ भन्ने ज्वलन्त उदाहरण विकास हाइड्रोपावर कम्पनीले प्रस्तुत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा यस कम्पनीले वित्तीय क्षेत्रमै तरंग ल्याउने गरी चामत्कारिक र ऐतिहासिक प्रगति हासिल गरेको छ। कम्पनीद्वारा भर्खरै सार्वजनिक गरिएको अपरिस्कृत वित्तीय विवरणले मुनाफामा ६२१.९७ प्रतिशतको अभूतपूर्व वृद्धि भएको देखाएको छ। अघिल्लो वर्षको यसै अवधिमा मात्र ९८ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्ष कुशल व्यवस्थापन र दूरदर्शी रणनीतिको बलमा आफ्नो खुद नाफालाई ७ करोड १० लाख रुपैयाँको बलियो उचाइमा पुर्याउन सफल भएको छ।
यो असाधारण सफलता केवल अंकको खेल मात्र नभई कम्पनीले अपनाएको चुस्त विद्युत् उत्पादन, उच्च व्यवस्थापकीय क्षमता र कडा वित्तीय अनुशासनको सुखद परिणाम हो। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५१.०५ प्रतिशतको छलाङ मार्दै १३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। उत्पादनमा देखिएको निरन्तरको स्थिरता र विद्युत् बिक्रीको दायरा फराकिलो बन्दै जाँदा संस्थाको समग्र आयमा यो उछाल आएको हो। आम्दानी बढ्नुका साथै कम्पनीले आफ्नो वित्तीय व्यवस्थापनलाई यति प्रभावकारी बनाएको छ कि, यसै अवधिमा ब्याज खर्च ५४.११ प्रतिशतले घटेर १ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। ऋणको भार उल्लेख्य रूपमा घट्दा त्यसको सीधा र सकारात्मक प्रभाव कम्पनीको खुद नाफामा परेको स्पष्ट देखिन्छ। यससँगै कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ४३ पैसाको सन्तोषजनक विन्दुमा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ६४ पैसा कायम भएको छ। हाल ९० करोड ९१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले आफ्नो जगेडा कोषलाई पनि मजबुत बनाउँदै ८ करोड ७५ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ।
विकास हाइड्रोपावरले गोरखाको विकट भूगोलमा निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाले २०७९ फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उत्पादन थालेको यति छोटो अवधिमै कम्पनीले वित्तीय सूचकहरूमा ल्याएको यो युगान्तकारी सुधारले नेपालको प्रतिस्पर्धात्मक ऊर्जा क्षेत्रमा कम्पनीको उपस्थितिलाई निकै शक्तिशाली र जब्बर बनाएको छ। संस्थाको यो गर्विलो सफलतासँगै यसलाई यहाँसम्म डोर्याउने कुशल नेतृत्वको अहिले सर्वत्र प्रशंसा भइरहेको छ। यस चामत्कारिक सफलताको पर्दापछाडि कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको निरन्तर लगाव, अथक मेहनत र रणनीतिक दृष्टिकोण लुकेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) का उपाध्यक्षसमेत रहेका न्यौपाने मलेसियामा लामो समयदेखि सफल व्यवसाय गर्दै आएका 'एटी ग्रुप अफ कम्पनी मलेसिया' का निर्देशक पनि हुन्।
नेपालको जलविद्युत् क्षेत्रलाई राष्ट्रको आर्थिक समृद्धिको सबैभन्दा बलियो आधारस्तम्भ मान्दै आक्रामक लगानी विस्तार गरिरहेका न्यौपाने विकास हाइड्रोपावरका अतिरिक्त बुढीगण्डकी हाइड्रो र साङ्ग्रीला हाइड्रोको नेतृत्व पनि सम्हालिरहेका छन्। निजी क्षेत्रबाट ऊर्जा विकासमा सक्रिय र अग्रणी भूमिका निर्वाह गर्ने अनुकरणीय व्यवसायीका रूपमा उनले आफूलाई अग्रपंक्तिमा स्थापित गरेका छन्। यस ऐतिहासिक सफलतामा गर्व गर्दै अध्यक्ष न्यौपानेले आफूलाई यस महाअभियानमा साथ दिने लगानीकर्ता, अहोरात्र खटिने कर्मचारी, स्थानीय बासिन्दा, प्राविधिक टोली र सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि नै कृतज्ञता ज्ञापन गरेका छन्। "नेपालको समृद्धिको मुख्य आधार जलविद्युत् नै हो, ऊर्जा क्षेत्रको क्रान्तिकारी विकासविना देशको आर्थिक रूपान्तरणको सपना सम्भव छैन," न्यौपानेले भनेका छन्। उनले विकास हाइड्रोपावरमार्फत प्राप्त यो सफलतालाई एउटा उत्कृष्ट टिमवर्कको उपज मान्दै आगामी दिनमा देशका अन्य सम्भावित जलविद्युत् आयोजनाहरूमा समेत लगानीको दायरा फराकिलो पार्दै लैजाने दृढ संकल्प व्यक्त गरेका छन्।
विदेशको भूमिमा रहेर पनि आफ्नै मातृभूमिको जलविद्युत् र पूर्वाधार क्षेत्रमा पूँजी खन्याउनुलाई उनले आफ्नो प्रमुख दायित्व र कर्तव्य ठानेका छन्। गैरआवासीय नेपालीहरूसँग भएको पूँजी, अथाह अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको पूर्वाधार विकासको मूलधारमा जोड्नुपर्ने उनको स्पष्ट दृष्टिकोणले सिंगो डायस्पोरालाई नेपालमा लगानी गर्न प्रेरित गरेको छ। एकातिर ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी बढेसँगै नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अग्रसर छ भने, अर्कोतिर विकास हाइड्रोपावरले छोटो समयमै देखाएको यो लोभलाग्दो वित्तीय प्रगतिले समग्र ऊर्जा क्षेत्र र लगानीकर्ताहरूमा एउटा शक्तिशाली र सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले के प्रमाणित गरेको छ भने, सही नेतृत्व, इमानदार प्रयास र स्पष्ट दृष्टिकोण हुने हो भने नेपालमै पनि छोटो समयमा उत्कृष्ट व्यावसायिक सफलता र दीगो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। आगामी दिनमा कम्पनीले थप व्यावसायिक विस्तार र उत्पादन वृद्धि गर्दै राष्ट्रको अर्थतन्त्रमा अझ ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।