नयाँ राजनीतिको हुङ्कार गर्दै संसद् प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसद गम्भीर नैतिक तथा आपराधिक विवादमा तानिएका छन्। मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपा सांसद कृष्णकुमार कार्कीले एक २६ वर्षीया नाइजेरियन युवतीलाई गर्भवती बनाएर बीचैमा अलपत्र पारी फरार भएको सनसनीपूर्ण खुलासा भएको छ। सुशासन र नयाँ राजनीतिको वकालत गर्ने पार्टीका सांसदकै यस्तो हर्कत बाहिरिएपछि सम्पूर्ण राजनीतिक वृत्त र आम मतदाता स्तब्ध बनेका छन्।
काठमाडौंको ठमेलमा बस्दै आएकी नाइजेरियन नागरिक रिता अजुकोसँग 'लिभिङ्ग रिलेसनशीप' मा रहेका सांसद कार्कीले उनलाई गर्भवती बनाएपछि धोका दिएका हुन्। पीडित अजुकोका अनुसार उनको चाहनाविपरीत कार्कीले शारीरिक सम्बन्ध राखेका थिए। आफू गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गराउन खोज्दा कार्कीले 'यस्तो कुरा नगर, मलाई रुन मन लाग्छ' भन्दै इमोशनल ब्ल्याकमेल गरेर बच्चा फाल्नबाट रोकेका थिए। उनले अजुकोलाई 'माई वाइफ, माई लाइफ', 'माई लभ' जस्ता प्रेमपूर्ण सन्देश पठाउने, ढाडमा बोकेर हिँड्ने र गाडी चलाउन सिकाउने गरेका भिडियो तथा म्यासेजका प्रमाणहरू समेत बाहिरिएका छन्। अस्पतालको रेकर्डमा समेत पतिको नाम कृष्ण कार्की नै उल्लेख छ। तर, जब अजुकोको पेट बढ्दै गयो र जिम्मेवारी लिने बेला आयो, कार्कीले फोन उठाउन र म्यासेजको रिप्लाई गर्न छाडेर उनी एकाएक सम्पर्कविहीन बने।
डेलिभरी हुने दिन नजिकिँदै गर्दा विदेशी भूमिमा रहेकी अजुको यतिबेला चरम आर्थिक र मानसिक संकटमा गुज्रिरहेकी छन्। क्षेत्रपाटी फ्रि क्लिनिकमा उपचार गराइरहेकी उनीसँग दैनिक खानपिनका लागिसमेत पैसा नभएको र जन्मिन लागेको सन्तानलाई कसरी हुर्काउने भन्ने गहिरो चिन्ताले सताएको छ। यस गम्भीर आरोपका विषयमा सञ्चारमाध्यमले प्रतिक्रिया लिन खोज्दा सांसद कार्की 'म मिटिङमा छु, अहिले कुरा गर्न मिल्दैन' भन्दै गैरजिम्मेवार ढंगले पन्छिएका छन्।
सांसद कार्कीको विवादित छवि यो पहिलो भने होइन। उनी विगतमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी 'चरी' को ग्याङमा संलग्न रहेको र चरी प्रहरी इन्काउन्टरमा मारिएपछि कारबाहीबाट बच्न जापान भासिएको दाबी गरिएको छ। लामो समयपछि नेपाल फर्किएर भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनमा सहभागी हुँदै उनले सुरक्षाकर्मीको हतियार नै खोसेर सिंहदरबार अगाडि अर्धनग्न प्रदर्शन गर्दै देशको प्रमुख प्रशासनिक केन्द्र जलाउने प्रयास गरेका थिए। ऐतिहासिक धरोहरमाथि आक्रमणको प्रयास गर्ने र आपराधिक पृष्ठभूमि भएको व्यक्तिलाई फागुन २१ को निर्वाचनमा रास्वपाले टिकट दिएर जिताएको भन्दै त्यतिबेलै पार्टीको चर्को आलोचना भएको थियो।
एकातिर रास्वपाले संसद् बैठक चलिरहँदा आफ्ना सांसदहरूलाई होटल र स्टाफ कलेजमा राखेर नैतिकता र अनुशासनको तालिम दिइरहेको छ भने अर्कोतिर सोही पार्टीका 'माननीय' यस्तो निन्दनीय धन्दामा संलग्न भएको पाइएको छ। 'पुराना सबै खराब, हामी मात्रै ठीक' भन्ने भाष्य निर्माण गरेर सत्ता र संसद्मा पुगेका 'नयाँ' दलका प्रतिनिधिको यो हर्कतले पार्टी नेतृत्व, सभामुख, प्रधानमन्त्री र परिवर्तनको आशमा भोट हाल्ने लाखौं मतदाताको शिर निहुरिएको छ। यस घटनाले रास्वपाको 'सुशासन' को दाबीमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। स्रोत: जनआस्था