काठमाडौं, पुस १ — करिब एक दशकभन्दा बढी समयदेखि फरार अवस्थामा रहेका विस्फोटक पदार्थसम्बन्धी गम्भीर कसूरका अभियुक्त तथा हाल श्रम संस्कृति पार्टीका उपाध्यक्ष रहेका ‘विश्वक्रान्ति’ नामले चिनिने राजकुमार तामाङ लामा पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले धनकुटा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका ५० वर्षीय लामालाई पक्राउ गरेको हो। CIB का अनुसार उनी कुमार, विश्वक्रान्ति र देवराज लामा नामबाट पनि परिचित छन्।
लामामाथि २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विस्फोट गराएको गम्भीर आरोप छ। उक्त विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका थिए।
प्रहरीका अनुसार उनी कर्तव्य ज्यान तथा ज्यान सम्बन्धी कसूरमा फरार रहँदै आएका थिए। यसअघि २०६९ असार १२ गते पाँचथरको भुसपातेबाट विस्फोटक पदार्थसहित पक्राउ परेपछि अनुसन्धानका लागि काठमाडौं पठाइएको थियो।
पछि २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा केन्द्रीय कारागार नख्खुबाट रिहा भए पनि, जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी फरारकै सूचीमा रहेका थिए।
हालै मात्र धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष बनेका लामाको पक्राउसँगै, राजनीतिक वृत्त र सुरक्षा निकायमा तरंग पैदा भएको छ।
प्रहरीले उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पाँचथर पठाइएको जनाएको छ।