काठमाडौं, ३ असोज । व्यापारी तथा समाजसेवी दुर्गा प्रसाईंले दशैं, तिहार र छठ पर्व सकिएलगत्तै देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत जेन–जि आन्दोलनमाथिको विश्वासघात र नयाँ संविधानको आवश्यकता औंल्याउँदै आफ्नो योजनाबारे सार्वजनिक गरेका हुन्।
प्रसाईंले वर्तमान संविधानलाई विदेशीको इशारामा लेखिएको भन्दै अस्वीकार गरेका छन्। उनले भने, “हाम्रो चाहना भनेको नेपालको माटो सुहाउने, नेपालीको सपना र भावनासँग मेल खाने संविधान हो। जबसम्म यस्तो संविधान बन्छ, तबसम्म यो देशमा हरेक दशक नेपालीको रगत बगिरहन्छ।”
आगामी आन्दोलनलाई उनले नेपालीकै आत्मा र भूमिसँग जोडिएको परिवर्तनको यात्रा ठहर गरेका छन्। प्रसाईंको भनाइमा, दशैं–तिहार र छठपछि सुरु हुने आन्दोलनबाट नयाँ पुस्ताले आफ्नै हातले संविधान लेख्नेछन्, जसमा स्वाभिमान, नेपालीपन र राष्ट्रिय पहिचानको स्पष्ट अभिव्यक्ति हुनेछ।
३ असोज २०८२, शुक्रबार ०२:३४ मा प्रकाशित