अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’को संज्ञा दिँदै युक्रेनलाई युद्धमा गुमाएको भूमि फिर्ता लिन सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसल मा उनले लेखेका छन्, “युरोप र नेटोको समर्थन र रुसको कमजोर अर्थतन्त्रका कारण युक्रेनले आफ्ना मूल सिमाना पुनः प्राप्त गर्न सक्छ।”
न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका ट्रम्पले भने, “पुटिन ठूलो आर्थिक संकटमा छन्, अब युक्रेनले निर्णायक कदम चाल्ने समय आएको छ।”
यसअघि ट्रम्पले युद्धविरामका लागि युक्रेनले केही भूभाग त्याग्नुपर्ने धारणा व्यक्त गरेका थिए। तर हाल उनले रुस-युक्रेनको सैन्य र आर्थिक अवस्था ‘पूर्ण रूपमा जानीबुझी सकेपछि’ आफ्नो अडान परिवर्तन भएको उल्लेख गरेका छन्।
८ असोज २०८२, बुधबार ०८:४७ मा प्रकाशित