प्रतिभाको महाकुम्भ: १२ औँ राष्ट्रिय एतिमी कराते च्याम्पियनसिप भव्यताका साथ सम्पन्न

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौँ। "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने मूल मर्मलाई आत्मसात् गर्दै नेपाल एतिमी क्युकोसिङ कराँते संघको आयोजनामा सञ्चालित '१२ औँ राष्ट्रिय महिला तथा पुरुष खुला फूल कन्ट्याक्ट एतिमी कराते च्याम्पियनसिप २०८३' एक ऐतिहासिक र भव्य समारोहका बीच सम्पन्न भएको छ। काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको कान्तिपुर एबी पार्टी प्यालेसमा हिजो ३ गते र आज ४ गते आयोजित यस बृहत् राष्ट्रिय प्रतियोगिताले नेपाली मार्सल आर्ट्सको क्षेत्रमा नयाँ तरंग र उत्साह पैदा गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभएको यस राष्ट्रिय प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभाहरूलाई एउटै मञ्चमा उभ्याउन सफल भएको छ।


एक दिवसीय यस खेलकुद महाकुम्भमा देशका सातवटै प्रदेशका कुनाकाप्चा र दूरदराजबाट आएका महिला तथा पुरुष गरी कुल २५० भन्दा बढी खेलाडीहरूले २२ विभिन्न तौल समूह (Categories) मा आफ्नो उच्च खेलकौशल, अदम्य साहस र प्राविधिक क्षमता प्रदर्शन गरेका थिए। त्यस्तै महिला विशेषगरी यस संस्करणमा महिला खेलाडीहरूको उल्लेख्य र उत्साहजनक सहभागिताले नेपाली मार्सल आर्ट्समा महिला सशक्तीकरण र उनीहरूको बढ्दो आकर्षणको बलियो सन्देश प्रवाह गरेको छ।



महिला ५० के.जी तौल समूहमा अनुष्का तामाङ्ग,अञ्जना तामाङ्ग, इस्थर माया बयलकोटी,महिला ५५ केजी तौल समूहमा खेलाडीहरू अञ्जली तामाङ्ग,रिया बस्नेत, अर्पना खड्का ,४५ के.जी तौल समूहमा रेखा रोकाया,पूजा मण्डल,कृतिका मौर्य त्यस्तै ४० के.जी तौल समूहमा किरण कुमारी दास,निशा तामाङ्ग,अनुराधा के विन र खुला तौलमा पायल मगर, गर्मीला तामाङ्ग र सृष्टि दुबे रहेका थिए। त्यस्तै पुरुषहरूकाे  ६० केजी तौल समूहमा अनिश पुडासैनी २. नवराज थापा ३. डेलिजन तामाङ , ५५ केजी: १. छोपाल तामाङ २. राजमत बुढा मगर ३. कामेश्वर मण्डल ,ओपन (Open)१. रोहित तामाङ २. अमिर लामा ३. सुशान्त कुमार दास , ४५ केजी १. मनोज अग्री २. आयुष थापा ३. आशिक राई , ५० केजी: तौल समूहमा विकी तामाङ,श्याम बुढा मगर,साहिल खान खेलाडीहरूको उपस्थिति रहेको थियो।दूरदराजका प्रतिभावान खेलाडीहरू आर्थिक अभाव वा स्रोतसाधनको कमीले खेलबाट वञ्चित हुन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ आयोजक संघले यसपटक अभूतपूर्व व्यवस्थापन गरेको थियो। उपत्यका बाहिरबाट आउने सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूको सम्मानमा बिहानको खाना, दिउँसोको खाजा र बेलुकाको खानाका साथै स्तरीय एवं निःशुल्क आवासको पूर्ण व्यवस्था मिलाइएको थियो। आयोजकको यस्तो खेलाडीमैत्री सुविधाले सहभागीहरूको मनोबल उच्च बनाउनुका साथै प्रतियोगिताको समग्र गरिमालाई थप उँचो बनाएको छ।


प्रतियोगिताको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले खेलकुद र खेलाडीको विकास नै समृद्ध राष्ट्र निर्माणको सबैभन्दा बलियो आधार भएको उद्घोष गर्नुभयो। वर्तमान विषम परिस्थितिमा युवाहरूमा सकारात्मक ऊर्जा भर्दै खेलकुदले नै राष्ट्रिय एकता कायम गर्न अद्वितीय भूमिका खेल्ने उहाँको भनाइ थियो। यस्ता राष्ट्रिय च्याम्पियनसिपले गाउँ-गाउँमा लुकेर रहेका दूरदराजका प्रतिभाहरूलाई उजागर गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन ढोका खोल्ने गहिरो विश्वास उहाँले व्यक्त गर्नुभयो।


यसैगरी, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकारले खेलाडीहरूको अनुशासन, मिहिनेत र समर्पणको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले खेलकुद केवल प्रतिस्पर्धा र पदक जित्ने माध्यम मात्र नभई समाजलाई अनुशासित र सशक्त बनाउने अचुक अस्त्र भएको बताउँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको झण्डा फहराउने सम्भावना बोकेका यी युवा प्रतिभाहरूलाई राज्यका तर्फबाट उचित मार्गदर्शन र प्रोत्साहन निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। समारोहमा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले आयोजकको उत्कृष्ट व्यवस्थापनको खुलेर प्रशंसा गर्दै, देशभरका खेलाडीहरूलाई एउटै छातामुनि ल्याएर सम्पूर्ण सुविधाहरू प्रदान गर्नु आफैँमा ऐतिहासिक कार्य भएको बताउनुभयो। प्राविधिक रूपमा यति उच्च स्तरको यो च्याम्पियनसिपले नेपाली मार्सल आर्ट्सको भविष्य अत्यन्तै उज्ज्वल रहेको प्रमाणित गरेको उहाँको धारणा थियो।


प्रतियोगितालाई पूर्ण रूपमा अनुशासित, निष्पक्ष र व्यावसायिक बनाउन प्रमुख प्रशिक्षक सिहान प्रदीप थापाको मुख्य नेतृत्वमा अनुभवी प्रशिक्षकहरू युवक राज पराजुली, विशाल खड्का, गोमा तामाङ्ग र रामहरि सिलवाल लगायतको उच्चस्तरीय प्राविधिक टोलीले अहोरात्र खटेर सञ्चालन गरेको थियो। दिनभरिको रोमाञ्चक र कडा भिडन्तपछि विजयी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा आकर्षक नगद पुरस्कारसहित सानदार रूपमा सम्मान गरिएको थियो।


राष्ट्रिय खेलकुद परिषद्का कानुन विभागका प्रमुख नारायण राज अर्याल, खेलकुद परिषद्का फुल कन्ट्याक्ट करातेका प्रमुख प्रशिक्षक (चिफ कोच) कुमार श्रेष्ठ तथा नेपाल एतिमी क्युकोसिङ कराँते संघका संस्थापक अध्यक्ष प्रदीप थापा ज्यूको विशेष र गरिमामय उपस्थितिमा यो गौरवशाली कार्यक्रमको औपचारिक समापन भएको थियो। दिग्गज गुरुहरू र उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न यस प्रतियोगिताले स्थानीय स्तरका नवप्रतिभाहरूलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने बलियो आत्मविश्वास र अठोट प्रदान गर्दै बिदा लिएको छ।

प्रतिक्रिया