काठमाडौं, असोज २० — सगरमाथाको तिब्बततर्फको फेदी क्षेत्रमा परेको भारी हिमपातका कारण सयौँ विदेशी तथा स्थानीय आरोही सम्पर्कविहीन भएका छन्।
चिनियाँ सञ्चारमाध्यमका अनुसार तिब्बततर्फको आधार शिविर नजिकै क्याम्पिङ गरिरहेका करिब एक हजारभन्दा बढी आरोही खराब मौसमका कारण फसेका हुन्। तीमध्ये ३५० जनाको उद्धार भइसकेको र करिब दुई सयभन्दा बढी आरोहीसँग सम्पर्क पुनः स्थापित गरिएको जनाइएको छ।
कर्मा घाँटी क्षेत्रमा शुक्रबार रातिदेखि लगातार हिमपात भएपछि आरोहीहरूका टेन्ट र उपकरणहरू हिउँले ढाकिएका छन्। उच्च हिमाली हावाहुरी र तापक्रम घटेसँगै उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
स्थानीय प्रशासन र उद्धार टोलीहरूलाई मौसम सामान्य भएपछि थप उद्धार अभियान सुरु गर्ने तयारी गरिएको बताइएको छ।
२० असोज २०८२, सोमबार ०२:२२ मा प्रकाशित