काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) मा अनलाइन सट्टेबाजी (बेटिङ) को छद्म ब्रान्ड ‘डाफा न्युज’ को खुलमखुला विज्ञापन राखेपछि नेपाल क्रिकेट संघ (क्यान) माथि फेरि संकट गहिरिएको छ। विज्ञापन (नियन्त्रण तथा नियमन गर्ने) बोर्डले क्यानलाई स्पष्टीकरण सोध्ने अन्तिम तयारी गरेको छ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सेतोपाटीसँग भने, “स्पष्टीकरणको चिठी पठाउने तयारी अन्तिम चरणमा छ, छिट्टै जान्छ।”
यो पहिलो पटक होइन। गत सिजनमै डाफा न्युजको विज्ञापन राखेको विषयमा बोर्डले क्यानलाई स्पष्टीकरण सोधेको थियो। चित्तबुझ्दो जवाफ नदिएपछि सचेत गराएको थियो। त्यतिमात्र होइन, गत भदौ १३ गते बोर्डले सार्वजनिक सूचना नै निकालेर डाफा न्युजसहितका अनलाइन बेटिङका छद्म ब्रान्डको विज्ञापन नगर्न/नगराउन स्पष्ट निर्देशन दिएको थियो र उल्लंघन गरे कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको थियो।
तर क्यानले सरकारी निर्देशनलाई पूर्णतः बेवास्ता गर्दै एनपिएल २०८२ मा पनि डाफा न्युजलाई प्रमुख प्रायोजकका रूपमा अगाडि सारेको छ। क्यानको तर्क छ– “कुनै कानुनले स्पष्ट रूपमा रोकेको छैन।”
विज्ञापन बोर्ड र सरकारी निकायहरू भने डाफा न्युजलाई अनलाइन जुवाको ‘फ्रन्ट ब्रान्ड’ ठान्छन् र यसको प्रचारले नेपालमा अवैध सट्टेबाजी मौलाउने डर औंल्याउँछन्।
एनपिएलको मैदानमा क्रिकेटको साथसाथै सट्टेबाजीको यो छद्म विज्ञापन विवादले नेपाली क्रिकेटको छवि र नियामक निकायबीचको द्वन्द्व फेरि एकपटक सतहमा आएको छ। अब क्यानले दिने जवाफ र बोर्डले चाल्ने कदमले नेपाली क्रिकेटको भविष्यमा ठूलो असर पार्न सक्ने देखिन्छ।