गृहमन्त्री अर्याल : "क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुलेको छ"

ecopolinews.com
३० भदौं, काठमाडौं ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै हालको आन्दोलनले मुलुकलाई नयाँ ऐतिहासिक अवसरतर्फ धकेलेको बताएका छन्।

गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब विवादमा अल्झेर पछाडि फर्किनुको सट्टा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए। "अहिले अब विवाद गरेर पछि फर्किने होइन, विवाद हटाएर अघि बढ्ने हो। क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ," मन्त्री अर्यालले स्पष्ट पारे।

उनले आन्दोलनपछिको परिस्थितिलाई चुनावमार्फत थप प्रमाणिकरण गरेर स्थिर समाधान निकाल्नुपर्ने आवश्यकता औंल्याए। अर्यालका अनुसार अहिले सरकारको मुख्य प्राथमिकता राज्यका तीनवटै अंगका अभावमा अव्यवस्थित रहेको संरचनालाई पुनः निर्माण गरी ‘राज्य भन्न लायक’ आधार तयार गर्नु हो।

गृहमन्त्री अर्यालले मुलुकलाई दीर्घकालीन रुपमै सहि बाटोमा डोर्याउने संकल्प दोहोर्याउँदै शान्ति, स्थिरता र संरचनागत मजबूतीलाई सरकारको प्रमुख कार्यसूचीमा राख्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया