रविन्द्र कट्टेल - काठमाडौं। चक्रतीर्थधाम विकास समितिका अध्यक्ष तथा पुजारी जगत प्रसाद कट्टेल को नेतृत्वमा चक्रतीर्थ धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकास अभियानलाई तीव्र बनाइएको छ। समितिले श्रावण २८ गते चक्रतीर्थ धार्मिक स्थलमा बृहत् धार्मिक अनुष्ठान आयोजना गर्ने निर्णय गर्दै सम्पूर्ण श्रद्धालु, स्थानीयवासी, युवा, आमा समूह तथा नागरिक समाजलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
समितिका अध्यक्ष जगत प्रसाद कट्टेल ले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय महत्व बोकेको चक्रतीर्थ क्षेत्रलाई राष्ट्रिय पहिचानका रूपमा विकास गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्। उनका अनुसार अनुष्ठानका क्रममा ब्राह्मणद्वारा रुद्री, चण्डी, श्रीमद्भागवत गीता तथा शक्तिकाण्डको पाठसहित विशेष पूजा–आराधना गरिनेछ।
यसअघि श्रावण २७ गते बिहान ११ बजे चक्रतीर्थ परिसर तथा नेपाल रेडक्रस सोसाइटी चक्रतीर्थ उपशाखा भवन वरपर बृहत् सरसफाइ अभियान सञ्चालन गरिने समितिले जनाएको छ। अभियानमा आमा समूह, युवा क्लब, स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालालाई सरसफाइका लागि आवश्यक सामग्रीसहित उपस्थित हुन आग्रह गरिएको छ।
अध्यक्ष जगत प्रसाद कट्टेल ले चक्रतीर्थ केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपालको अमूल्य सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सबैलाई अभियानमा हातेमालो गर्न अपिल गरेका छन्।
समितिले धार्मिक अनुष्ठान र सरसफाइ अभियानलाई सफल बनाउन सबै समुदाय, संघ–संस्था तथा श्रद्धालुहरूलाई उत्साहपूर्वक सहभागी भई चक्रतीर्थको गौरव जोगाउने अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरेको छ।