अमृत झाको रिहाइ प्रक्रिया अझै जारी: परराष्ट्र मन्त्रालयद्वारा मन्त्रीको बचाउ

ecopolinews.com

काठमाडौं । स्ट्रेट अफ होर्मुजबाट इरानी अधिकारीहरूले नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै टुङ्गोमा नपुगेको सरकारले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाइका लागि कानुनी र कूटनीतिक प्रयासहरू जारी रहे पनि उनी अझै इरानकै हिरासतमा रहेको जानकारी दिनुभयो।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भइसकेको जानकारी सार्वजनिक गरे पनि वास्तविकतामा उनी बन्दर अब्बासस्थित जेलमै रहेको खुलेपछि सरकारको आलोचना भएको थियो। मन्त्रालयले मन्त्रीको उक्त अभिव्यक्तिलाई रिहाइको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको सन्दर्भमा बुझ्नुपर्ने भन्दै बचाउ गरेको छ। प्रवक्ता क्षेत्रीका अनुसार पानी जहाजको मुद्दामा स्थानीय अदालतको पहिलो चरणको फैसला आइसकेको र जहाजमा संलग्न ७ मध्ये ४ जना यसअघि नै मुक्त भइसकेका छन्।

इरानको वर्तमान विषम परिस्थिति र त्यहाँको जटिल न्यायिक प्रणालीका कारण बाँकी रहेका केही कानुनी प्रक्रियाहरू पूरा हुन अझै केही दिन लाग्ने देखिएको छ। सरकारले विभिन्न तहबाट निरन्तर पहल गरिरहेको र बाँकी प्रक्रिया टुङ्गिनासाथ झा नेपाल फर्कने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

प्रतिक्रिया