‘उज्यालोका पाइलाहरू’ सार्वजनिक हुँदै: आच्यो सर मनबहादुर गुरुङको बौद्धिक अभियान, बालबालिकालाई मोबाइलको लतबाट बचाउने लक्ष्य

ecopolinews.com

काठमाडौं। बालबालिकामा बढ्दो मोबाइलको लत, घट्दो एकाग्रता र कमजोर बन्दै गएको सिर्जनशील क्षमतालाई मध्यनजर गर्दै आच्यो सर मनबहादुर गुरुङ द्वारा लिखित ‘उज्यालोका पाइलाहरू’ पुस्तक सार्वजनिक हुने भएको छ। बौद्धिक अभ्यास, तार्किक सोच, संवाद र सकारात्मक जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको यो कृतिले बालबालिकाको सर्वाङ्गीण विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।


करिब २१ वर्षको शिक्षण अनुभवलाई व्यवहारिक रूपमा समेटेर तयार पारिएको यस पुस्तकमा आई.क्यू. (IQ), पजल (Puzzle), संवाद (Dialogues) र संस्मरण (Memories) समावेश गरिएका छन्। मनोरञ्जनसँगै ज्ञान, तार्किक क्षमता, विश्लेषणात्मक सोच र आत्मअनुशासनको विकास गर्ने उद्देश्यले पुस्तक तयार गरिएको लेखकको भनाइ छ।

लेखक मनबहादुर गुरुङ (आच्यो सर) का अनुसार बालबालिकालाई सानैदेखि गणितीय तथा तार्किक खेलमार्फत सिकाइको अवसर प्रदान गर्न सकियो भने उनीहरूमा सकारात्मक सोच, अनुशासन, आत्मविश्वास र सिर्जनशीलता स्वाभाविक रूपमा विकास हुन्छ। त्यसका लागि अभिभावक र शिक्षकले मोबाइलको विकल्पका रूपमा यस्ता बौद्धिक सामग्रीको प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।


यस पुस्तकको अर्को विशेष पक्ष यसको सामाजिक उत्तरदायित्व पनि हो। पुस्तक बिक्रीबाट प्राप्त हुने कुल आम्दानीको १० प्रतिशत बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थितिका असहाय व्यक्तिहरूको सहयोगार्थ खर्च गरिने जनाइएको छ। यसले शिक्षा र सामाजिक सेवाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

पुस्तक विमोचन समारोहमा सम्पूर्ण महानुभावहरू, शिक्षाविद्, अभिभावक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा पुस्तकप्रेमीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ। आयोजकले सबैको सहभागिताले बालबालिकामा अध्ययन संस्कृतिको विकास र बौद्धिक जागरणको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

शिक्षा, संस्कार, संवाद र बौद्धिक विकासलाई एउटै सूत्रमा बाँध्ने प्रयासस्वरूप तयार पारिएको ‘उज्यालोका पाइलाहरू’ केवल एउटा पुस्तक मात्र नभई भावी पुस्तालाई उज्यालो भविष्यतर्फ डोर्‍याउने प्रेरणादायी अभियानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया