प्रहरीभन्दा अघि पत्रकार ? भयरहित समाज बनाउन ‘नङ र मासु’ बनेको सहकार्य

ecopolinews.com

लुम्बिनी — समाजमा नागरिकले डरबिनै जीवनयापन गर्न पाउने वातावरण निर्माणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन्।

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तीनदिने न्युज फेस्टिवलको सोमबार समापन गर्दै महानिरीक्षक कार्कीले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई ‘नङ र मासु’ सँग तुलना गर्दै दुवै पक्षको सहकार्यले लुकेका अपराध उजागर गर्न ठूलो योगदान पुगेको उल्लेख गरे।

उनले खोज पत्रकारितामार्फत समाजमा लुकेर बसेका कैयौँ अपराध सार्वजनिक हुन सकेको बताउँदै कतिपय अवस्थामा प्रहरी पुग्नुअघि नै सञ्चारकर्मी घटनास्थलमा पुगेर अनुसन्धानका लागि महत्त्वपूर्ण आधार र प्रमाण जुटाउने गरेको अनुभव सुनाए।

‘कहिलेकाहीँ सञ्चारकर्मीबाट प्राप्त सूचना र प्रमाणकै आधारमा अनुसन्धानले सही दिशा पाएको छ,’ उनले भने।

महानिरीक्षक कार्कीले अफवाह, मिथ्या तथा भ्रामक सूचनाका कारण समाजमा भय र अन्योल सिर्जना हुने खतरा औँल्याउँदै त्यसलाई चिर्न तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए। यसले नागरिकको चेतनास्तर वृद्धि गर्नुका साथै समाजलाई सुरक्षित र भरोसायोग्य बनाउने उनको भनाइ थियो।

लुम्बिनी प्रेस क्लबको ११औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले ‘हेरिटेज वाक’ को शुभारम्भसमेत गरेका थिए। पर्सा चोकबाट सुरु गरिएको हेरिटेज वाक बेबी बुद्ध परिसरमा पुगेर समापन गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायतले सञ्चार क्षेत्रको जिम्मेवारी र प्रभावकारिताबारे धारणा राखेका थिए।

तीनदिने न्युज फेस्टिवलमा नेपाल र भारतका पत्रकार, पर्यटन व्यवसायी, उद्यमी, भिक्षु तथा लामा गुरुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया