रविन्द्र कट्टेल - काठमाडौँ — नेपाल सरकारले दर्ता (सूचीकरण) नगरेका सामाजिक सञ्जालहरूलाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले यो निर्णय लिएको हो।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पटक–पटक तोकिएको समयसीमा भित्र दर्ता नगर्ने सामाजिक सञ्जाललाई तत्काल प्रभावले नेपालमा निष्क्रिय बनाउने र दर्ता गर्न आए आएकै दिनदेखि पुनः सञ्चालनमा ल्याइने जानकारी दिए।
उनका अनुसार, नेपालमा सबैभन्दा ठूलो रूपमा मेटाका प्लेटफर्महरू—फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स चलिरहेका छन्। यिनै कम्पनीले सूचीकरणका लागि निरन्तर आग्रह गरिए पनि अहिलेसम्म औपचारिक प्रक्रिया पूरा नगरेका कारण सरकारले कडा कदम चाल्नुपरेको मन्त्री गुरुङको भनाइ छ।
“सूचीकरण गर्न कुनै शुल्क लाग्दैन। तर अटेरी गर्नेहरूमाथि अब सरकारले कठोर कदम चालेको छ,” मन्त्री गुरुङले भने।
नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध कार्यान्वयन र दर्ता पूरा गरेपछि तुरुन्तै खोल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।