स्थानीय उत्पादनको रक्षा : आयातित प्रसाद रोक्दै डम्मरबहादुरको ‘रोट मिशन’

ecopolinews.com

२६ असोज, बागलुङ । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल विगत छ वर्षदेखि कालिका मन्दिरको ढोकामा बसेर एक मौलिक परम्परा पुनर्जीवित गरिरहेका छन् — ‘रोट चढाउने संस्कार’।

विदेशी मिठाई र तयार प्रसादले भरिएका मन्दिरहरूबीच उनले स्थानीय स्वाद र परम्पराको पुनर्जागरण गरेका छन्।

मल्ल बिहानैदेखि साँझसम्म कालिका मन्दिर गेटमा आगो ताप्दै रोट पकाउँछन्। भक्तजनहरू मन्दिर प्रवेश गर्नुअघि उनको अँगेनोमा पुग्छन्, तात्तातो रोट हातमै लिएर देवीलाई चढाउँछन्। यही काम अहिले उनको दैनिकी, जीविका र गर्व बनेको छ।

पहिले मन्दिरहरूमा घरघरमै बनेको रोट चढाउने चलन थियो, तर पछिल्लो वर्षहरूमा बाहिरका मिठाईले त्यस परम्परा हराउँदै थियो। मल्लले भने त्यस मौलिक संस्कारलाई फेरि जिवन्त बनाए। उनका अनुसार अहिले बागलुङ मात्र होइन, म्याग्दी, पर्वत र मुस्ताङका मन्दिरहरूमा पनि उनका रोट पठाइन्छन्।

“रोट हाम्रो संस्कृति हो,” मल्ल भन्छन्, “बाहिरबाट ल्याइएको प्रसाद होइन, आफ्नै हातले बनेको स्थानीय प्रसाद देवीलाई चढाउनुपर्छ।”

रोट चामलको पीठो, चिनी, नरिवल, बदाम र काजु मिसाएर घ्यूमा पकाइन्छ। प्रतिगोटा चार सय रुपैयाँ पर्छ, र दसैं अवधिमा मात्र उनले दुई लाख रुपैयाँ बराबरको रोट बिक्री गरेका छन्। वार्षिक बिक्री करिब सात लाख रुपैयाँसम्म पुग्छ।

पहिले बुढापाका मात्र रोट चढाउने गर्थे, तर अहिले युवायुवती पनि यो मौलिक परम्परामा जोडिन थालेका छन्।

स्थानीयले रोटलाई देवीकालिकाको “शुद्ध र चोखो प्रसाद” मानेर चढाउने चलन पुनः बढ्दो छ।

डम्मरबहादुर मल्ल भन्छन् —“म भगवान्लाई सेवा गर्दैछु, तर यो सेवा हाम्रो संस्कृतिको रक्षा पनि हो।”

प्रतिक्रिया