प्रधानमन्त्री कार्कीको जेन–जीसँग तीन घण्टे संवाद : मन्त्रिपरिषद्‌मा चार प्रतिनिधि सहभागी गराउने तयारी

ecopolinews.com

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार जेन–जीका प्रतिनिधिहरूसँग आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र सरकारमा उनीहरूको सहभागितासम्बन्धी विस्तृत छलफल गर्नुभएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री र जेन–जी प्रतिनिधिहरूबीच शीतल निवासमा त्रिपक्षीय वार्ता हुने तय भए पनि राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि प्रधानमन्त्री कार्कीले जेन–जीका प्रतिनिधिहरूसँग एक्लै वार्ता गर्नुभएको हो ।

वार्तामा सहभागी जेन–जी अभियन्ता मिराज ढुंगानाका अनुसार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्‌मा चार जना जेन–जी प्रतिनिधिलाई सहभागी गराउने तयारी भएको जानकारी दिनुभएको छ ।

जेन–जीका प्रतिनिधिहरूले दलहरूलाई निषेध गरेर चुनावमा जान नहुने सुझाव दिएका छन् भने सरकारसँग आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति राज्यको जिम्मेवारी र पुनर्स्थापनासम्बन्धी विषयमा पनि विस्तृत छलफल भएको थियो ।

झन्डै तीन घण्टा चलेको वार्तामा ठोस सहमति भने हुन सकेन । केही जेन–जी प्रतिनिधिहरूले आफूहरूलाई वार्ताबाट बाहिर राखिएको भन्दै शीतल निवास बाहिर नाराबाजीसमेत गरेका थिए ।

यसैबीच, पुरूषोत्तम यादव नेतृत्वको जेन–जी समूहले आफ्ना प्रदेश प्रतिनिधिहरूलाई प्रवेश नदिएको भन्दै वार्ता बहिष्कार गरेको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार अब सोमबार पुनः राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेन–जी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने तयारी गरिएको छ ।

प्रतिक्रिया