“टीओबी” लेखिएको टिसर्टमा पेस्तोल बोकेको युवक जेन-जी आन्दोलनमा! प्रहरीको खोजी तीव्र

ecopolinews.com

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा “टीओबी” (Tibetan Original Blood) लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि राजधानीमा सुरक्षा निकाय सतर्क बनेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त तस्बिरमा बिजुलीबजार पुल आसपासको क्षेत्र देखिन्छ, जहाँ टीओबी लेखिएको कालो टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडिबाट पेस्तोल जस्तो वस्तु निकाल्दै गरेको दृश्य देखिन्छ। साथमा रहेका अर्का युवकले उनलाई नियालिरहेको पनि देखिन्छ।

केही दिनयता टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरूले जेन-जी आन्दोलनमा घुसपैठ गरी भिडलाई उक्साउने प्रयास गरेको आरोप सार्वजनिक भइरहेका बेला यो तस्बिरले सुरक्षा निकायलाई थप चनाखो बनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उक्त तस्बिरबारे अनुसन्धान सुरु गरिएको जनाएका छन्। उनका अनुसार, “हामीले फोटो र यससँग सम्बन्धित भिडियो फुटेजहरू संकलन गरेका छौं। ती व्यक्तिको पहिचान हुँदैछ र चाँडै नियन्त्रणमा लिइनेछ।”

प्रहरीले प्रारम्भिक विश्लेषणमा उक्त तस्बिर सक्कली भएको अनुमान गरेको छ। हाल राजधानीका संवेदनशील स्थानहरूमा निगरानी थप कडा पारिएको छ।

जेन-जी आन्दोलनमा घुसपैठको आशंका र हतियारसहितको उपस्थिति देखिएपछि सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका छन्।

प्रतिक्रिया