ओलीको प्रश्न : “प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताको मूल्य कहाँ हराइरहेको छ?”

ecopolinews.com

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता हुनुपर्छ भन्नेहरूको अवधारणा आज कहाँ पुगेको छ भनी प्रश्न उठाएका छन्। बिहीबार, एमाले नेता र पार्टी निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीका सदस्यहरूसँगको भेटवार्तामा उनले जिम्मेवार दलहरूमाथि केन्द्रित प्रहारप्रति गहिरो चिन्ता व्यक्त गरे।

ओलीले भने, “प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता हुनु पर्छ भन्नेहरू नै आफूभन्दा फरक विचार राख्दा त्यसलाई ‘काटीकाटी’ वा ‘किच्याई किच्याई’ मार्नुपर्छ भन्ने प्रवृत्ति कसले ल्याइरहेको हो? यो सभ्यता कहाँ गइरहेको छ?” उनले यसबारे अनुसन्धान आवश्यक रहेको पनि जोड दिए।

पूर्वप्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई सजग रहनुपर्ने आह्वान गर्दै भने, “यो देश युवा पुस्ताको हो, तर अहिले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि बढ्दो छ। शान्ति कहाँ पुगेर रोकिने हो?”

साथै उनले पृथकतावादको वकालत गर्नेहरूलाई मूलधारमा ल्याएको उल्लेख गर्दै आफूमाथि प्रतिशोधपूर्ण प्रहार भएको बताए। उनले भदौ २३ गतेको प्रदर्शनमा गोली चलेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने जोड दिए।

ओलीले युवा पुस्ता झण्डा बोकेर आन्दोलनमा आएको भए पनि त्यहाँ केही तत्वहरूले हतियार प्रयोग गरेको आरोप लगाए। उनले भने, “सुत्ली बम बोकेर जेनजी आएका थिएनन्, तर विद्यार्थी भाइ–बहिनी मर्ने–मार्ने अवस्था सिर्जना भयो।”

अन्त्यमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दम्पतीमाथि प्रहार गर्नेहरू जेनजी नभएको स्पष्ट पारे।

प्रतिक्रिया