काठमाडौंमा प्रहरीको गोली लागेर रमेश पराजुलीको सहादत, आन्दोलन निर्णायक मोडमा

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाण्डौ - देशभरि उठेको Gen Z भ्रष्टाचारविरोधी आन्दोलनले फेरि अर्को सहिद पाएको छ। गोरखा, पालुङ्टार–३ बज्रेडाँडाका करिब ४० वर्षीय र हाल काठमाडौं तारकेश्वर नगरपालिका–१ रमाइलो डाँडामा बसोबास गर्दै आएका रमेश पराजुली हिजो दिउँसो चक्रपथमा प्रहरीको गोली लाग्दा घटनास्थलमै सहादत प्राप्त गरेका छन्।

आन्दोलनमा अग्रसर रूपमा लागिरहेका पराजुलीलाई प्रहरीले सीधा गोली चलाएपछि उनको जीवनको अन्त्य भयो। घटनापछि शव तत्काल महाराजगञ्जस्थित मेट्रो हस्पिटलमा राखिएको थियो भने आज बिहान ८ बजे टिचिङ अस्पताल लगिएको हो। तर अस्पतालमा अहिले परिवार, साथी वा नातेदारलाई समेत शव हेर्न अनुमति दिइएको छैन।

पराजुलीका पछाडि श्रीमती, १३ वर्षका एक छोरा र २ वर्षका अर्को छोरा रहेका छन्। परिवारका लागि अपूरणीय क्षति भए पनि आन्दोलनकारीहरूको भनाइमा यो बलिदानले देशभरका युवालाई झन् दृढ र एकजुट बनाएको छ।

युवाहरूले रमेश पराजुलीलाई देशको सहिद घोषणा गर्न माग गर्दै भनेका छन्—

✊ “सहिद रमेशलाई न्याय चाहिन्छ!”

✊ “भ्रष्टाचारको अन्त्य अबको पुस्ताले गर्छ!”

✊ “गोलीले होइन, जनशक्तिले भविष्य लेखिन्छ!”

उनको बलिदानलाई युवाहरूले देशको भविष्य बदल्ने ऐतिहासिक मोड को रूपमा चित्रण गरेका छन्।

“रमेश मरेका छैनन्, उनले हामीलाई अझ साहसी बन्न सिकाएका छन्,” भन्दै आन्दोलनकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्पूर्ण देशवासी, विद्यार्थी, व्यवसायी र आम नागरिकले रमेशको सहादतलाई भ्रष्टाचारविरोधी आन्दोलनलाई अझ सशक्त बनाउने प्रेरणा को रूपमा लिएका छन्।

रमेश पराजुली अब केवल एउटा नाम मात्र होइनन्—उनी भ्रष्टाचारविरुद्ध उठेको पुस्ताको साहस, बलिदान र प्रतीक बनेका छन्।

प्रतिक्रिया