काठमाडौं, ६ असोज । जेन–जी आन्दोलनपछि विभिन्न दलमा नेतृत्व हस्तान्तरणको बहस तीव्र बनेको छ। नेकपा (माओवादी केन्द्र) ले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरिरहेकै बेला नेपाली कांग्रेसभित्र पनि त्यस्तो माग चर्किएको छ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र कांग्रेसमा विशेष महाधिवेशन आवश्यक रहेको भन्दै दवाब बढाइरहेका छन्। हाल उपचाररत सभापति देउवामाथि आन्दोलनकै क्रममा आक्रमण भएको थियो।
यसैबीच, घाइते अवस्थामा उपचाररत उनकी पत्नी डा. आरजु राणा देउवाले भने पार्टी नेताहरूसँग अस्पतालको बेडमै सम्पर्क राख्दै विशेष महाधिवेशनको माग तत्काल नउठाउन आग्रह गरिरहेको स्रोतले जनाएको छ।
कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटे विशेष महाधिवेशन बोलाउन सकिन्छ। नियमित महाधिवेशन भने २०८३ असारमा हुने तय छ। तर सभापतिले ६–६ महिनाको म्याद थप गर्नसक्ने प्रावधानले देउवाले नेतृत्व लम्ब्याउने कोसिस गर्ने चर्चा छ।
देउवाको यो दोस्रो कार्यकाल हो र विधानतः उनी तेस्रो पटक सभापतिमा उम्मेदवार बन्न पाउँदैनन्। यसैबीच विशेष महाधिवेशनको मागले उनलाई थप दवाबमा पारेको विश्लेषण गरिन्छ।