आन्तरिक शक्ति संघर्षले कांग्रेस उक्लियो निर्णायक मोडतर्फ

ecopolinews.com
काठमाडौं, असोज ५ ।
नेपाली कांग्रेस आन्तरिक प्रतिस्पर्धा र ध्रुवीकरणको सबैभन्दा संवेदनशील मोडमा प्रवेश गरेको छ। भदौ २३–२४ को घटनापछि पार्टीभित्र नेतृत्व, आगामी चुनावी रणनीति र संगठनात्मक सुधारबारे तीव्र बहस सुरु भएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व र नीति–दिशा पुनःनिर्धारण गर्नुपर्ने अडान सार्वजनिक गरेका छन्। उनीहरूले चाँडै हस्ताक्षर अभियानमार्फत विशेष महाधिवेशनको माग अघि बढाउने तयारी गरेको खुलासा भएको छ।

तर, सभापति शेरबहादुर देउवा पक्ष भने नेतृत्व जोगाउन सक्रिय छ। अस्पतालमै उपचाररत देउवाले निरन्तर आफ्ना नजिकका नेताहरूसँग सम्पर्क बढाइरहेका छन्। प्रवक्ता प्रकाशशरण महतसहित निकट नेताहरूले महामन्त्रीद्वयको दबाबलाई गैरजिम्मेवार ठहर गर्दै आक्रामक प्रतिवाद गरेका छन्।

यता, देउवानिकट शीर्ष नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतले सभापति देउवालाई साथ दिने निर्णयमा एकजुट भएका छन्। उनीहरू आगामी महाधिवेशनमा सभापतिको आकांक्षी भए पनि नेतृत्वमा देउवाको आशीर्वाद पाउने रणनीतिमा जुटेका देखिन्छन्।

शेखर कोइराला समूह भने परिस्थितिअनुसार नयाँ रणनीति बनाउन व्यस्त छ। हालसम्म सबै पदाधिकारीले राजीनामा दिनुपर्छ भन्ने धारणा राख्दै आएको यो समूह पनि महामन्त्रीद्वयको कदमपछि थप छलफलमा छ।

गगन थापाले सार्वजनिक रूपमा “अब सम्झौता होइन, नयाँ महाधिवेशनमार्फत रूपान्तरण” भन्ने अडान व्यक्त गरेका छन्। उनले ऐतिहासिक उदाहरण दिँदै २०१४ सालको विशेष महाधिवेशनले सुवर्ण शमशेरलाई हटाएर बिपी कोइरालालाई सभापति बनाएको प्रसङ्गसमेत स्मरण गराएका छन्।

अब कांग्रेस कार्यकर्ता उत्सुकतापूर्वक हेर्दैछन्– पार्टी नयाँ नेतृत्वतर्फ जान्छ कि देउवाको नेतृत्वमै चुनावतर्फ अघि बढ्छ। विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने व्यवस्था छ, जसलाई पूरा गर्नेमा महामन्त्रीद्वय ढुक्क देखिन्छन्।

यसबीचमा पार्टीभित्रको शक्ति संघर्षले कांग्रेसलाई ऐतिहासिक मोडमा ल्याएको छ, जहाँ भविष्यको दिशा विशेष महाधिवेशन वा देउवाको निरन्तरता कुन पक्षले जित्छ भन्नेमा निर्भर हुनेछ।

प्रतिक्रिया