काठमाडौँ, २५ असोज । देश फेरि एक निर्णायक मोडमा उभिएको छ — प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणासँगै राजनीति पुनः गतिशील बनेको छ। यही सन्दर्भमा जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले दिएको सन्देशले देशको लोकतान्त्रिक अभ्यासलाई नयाँ दिशा दिने संकेत गरेको छ।
राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुङ्गानाले भने,
“निर्वाचन लोकतान्त्रिक प्रक्रियाको आत्मा हो। सबै राजनीतिक दल आउनुहोस्, यो जनताको अधिकार हो। जसलाई जनताले रोज्छन्, वही निर्वाचित हुनेछ। निष्पक्ष प्रतिष्पर्धा हुनेछ — यही लोकतन्त्रको सौन्दर्य हो।”
ढुङ्गानाको यो वक्तव्य केवल एउटा राजनीतिक अपील होइन, बरु अहिलेको परिस्थितिमा सशक्त सन्देश हो। किनकि पुराना दलहरू चुनावमा भाग नलिने बहानामा सडकमुखी आन्दोलन र अस्थिरता सिर्जना गर्न खोज्दैछन्। यस्तो अवस्थामा जेनजी आन्दोलनबाट आएको यो आवाजले लोकतान्त्रिक स्थायित्वप्रति प्रतिबद्धता प्रष्ट पार्छ।
उनले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउने योगदानकर्तालाई स्थान दिनुपर्ने सुझावसमेत दिए। त्यो सुझावले नयाँ पुस्ताको राजनीतिक चेतना—‘सहभागिता र प्रतिनिधित्व दुबैको सन्तुलन’—लाई उजागर गर्छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भएको उच्चस्तरीय छलफलमा पनि सबै दलले शान्ति, सुरक्षा र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न माग गरेका थिए। सरकारका तर्फबाट भने स्पष्ट सन्देश आएको छ—चुनाव टार्ने होइन, सुनिश्चित गर्ने।
अहिले जनताको चाहना पनि यही हो—निर्वाचन होस्, प्रतिस्पर्धा होस्, र जो योग्य छ, उसले जनमतको आधारमा सत्ताको जिम्मेवारी पाओस्।
जेनजी आन्दोलनको तर्फबाट आएको ‘सबै आउनुहोस्, निष्पक्ष प्रतिष्पर्धा हुन्छ’ भन्ने सन्देश आजको राजनीतिक बहसमा एउटा ताजा ऊर्जा हो — जसले जनतालाई निराशा होइन, आशाको संकेत दिन्छ।