काठमाडौँमा रातिदेखि निरन्तर वर्षा, ‘मोन्था’ चक्रवातको असर अझै रहने

ecopolinews.com

काठमाडौँ उपत्यकामा गएराति १ बजेदेखि अविरल वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात र पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण राजधानीसहित देशका विभिन्न भागमा वर्षा भइरहेकाे हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार बिहानदेखि हल्का तर निरन्तर वर्षा भइरहेको छ।

उनले भनिन्, “बीचबीचमा रोकिएजस्तो देखिए पनि वर्षा निरन्तरजस्तै भइरहेको छ। आज र भोलि पनि मौसम यस्तै रहने सम्भावना छ।”

महर्जनका अनुसार काठमाडौँमा अहिले हल्का वर्षा भइरहे पनि बेलुकासम्म वर्षाको तीव्रता मध्यमसम्म पुग्ने अनुमान गरिएको छ।

उनले थपिन्, “आज दिनभर मौसम खुल्ने सम्भावना छैन। केही बेर रोकिने, फेरि पानी पर्ने क्रम रहिरहनेछ।”

हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, साथै लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा जारी छ।

मौसमविद्हरूका अनुसार उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना पनि छ, विशेषगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडमा आज रातिदेखि भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया