काठमाडौं, कार्तिक २९ ।जेनजी आन्दोलनको सर्वाधिक अराजक क्षण—भदौ २४। इतिहासले कहिल्यै भुल्न नसक्ने त्यो दिन प्रहरीले देखाएको संयम, साहस र कर्तव्यनिष्ठाको उच्चतम उदाहरण बनेका छन् सहायक निरीक्षक मिलन राय।
उनको बलिदान आज नेपाल प्रहरी मात्र होइन, सम्पूर्ण राष्ट्रका लागि आत्मबल, प्रेरणा र जिम्मेवारीबोधको ज्वलन्त प्रतीक बनिएको छ।
दुर्भाग्यपूर्ण दिनको सम्झना अहिले पनि उनका परिवारका आँखाबाट नओसिलाई बग्छ। जापानमा रोजगारी गर्दै आएकी उनकी श्रीमती मङ्गला श्रेष्ठ त्यस दिन दिनभर श्रीमान्को सुरक्षाबारे चिन्तित थिइन्। “सबै ठीक छ, सटरभित्र छु, तनाव नलिनू”—यो मिलनको अन्तिम आवाज थियो, जसले मङ्गलालाई केही क्षणका लागि ढाडस दियो। तर त्यसपछि आएको खबरले उनको संसार अन्धकार बनाइदियो।
गुप्त घुसपैठ, अराजकता र अनुशासनरक्षकमाथि निर्मम आक्रमण
जेनजी आन्दोलनमा प्रवेश गरेका भड्काइ समूहको निशानामा परे—कर्तव्यमा खटिएका असई मिलन राय र जवान उत्तम थापा।
जनताको सुरक्षामा ज्यान जोखिममा राखेर खटिएका यी वीरलाई सडकमै कुटीकुटी हत्या गरिएको दृश्यले पूरा मुलुक स्तब्ध बन्यो।
यही घटना सिद्ध गर्छ—प्रहरी लोकतन्त्रको पहिलो र अन्तिम ढाल हो, जसले अराजकतालाई रोकेर राष्ट्रलाई सुरक्षित राख्छ।
जापान जाने योजनादेखि जीवनअन्त्यसम्म–कर्तव्य कहिल्यै छुटेन
सानैमा बाआमा गुमाएपछि हजुरआमाको काख र काकाको रेखदेखमा हुर्किएका मिलन तीन दाजुभाइमध्ये कान्छा।
जीवनभर संघर्ष र मेहनतको बाटो पछ्याएका उनले २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरे। जलेश्वर, ललितपुर, जनसेवा, दरबारमार्ग हुँदै महाराजगञ्ज–जहाँ अन्ततः कर्तव्यपालनकै क्रममा उनले प्राण अर्पण गरे।
उनको प्रेमकथा पनि साधारण थिएन—धादिङकी मङ्गलासँग चिनजान, लामो प्रेम, अन्ततः विवाह।
मङ्गला भन्छिन्, “यसै वर्षभित्र जागिर छुट्याएर जापान आउने योजनामा थिए, तर उनी जिम्मेवारीमा कति समर्पित थिए भने त्यो सम्भावना पनि त्यागे।”
परिवारको दुःख, तर प्रहरी संगठनलाई गौरव
मिलनका दाजु, नायब निरीक्षक हरिबाबु भन्छन्,
“मैले साथी मात्र होइन, मुटुको टुक्रा गुमाएँ। ऊ असल प्रहरी मात्र थिएन—मानिस पनि असाध्यै असल थियो।”
प्रहरी संगठनभित्र मिलन अनुशासन, इमानदारी र कर्तव्यनिष्ठाको पर्याय मानिन्थे। हाकिमहरूका ढुकुटीमा विश्वास बोकेर हरेक जिम्मेवारी चुस्त रूपमा पूरा गर्ने उनको बानीले उनलाई सबैको ‘फेभरिट’ बनाएको थियो।
राष्ट्रको सम्मान: सहिद घोषणा, परिवारलाई सहारा
सरकारले कार्तिक १७ गते अमर प्रहरी सहिद घोषणा गर्दै उनका परिवारलाई १५ लाख उपलब्ध गराइसकेको छ।
नेपाल प्रहरीले मिलनको परिवारलाई आजीवन निवृत्तिभरण उपलब्ध गराउने निर्णय गरेको छ—यो सिर्फ सहारा मात्र होइन, संगठनले आफ्नो वीरलाई गरेको उच्च सम्मान पनि हो।
त्यो दिन, तीन प्रहरी राष्ट्रका लागि अमर बने
भदौ २४ को घटनामा मिलनसँगै कास्कीका अमृत गुरुङ दार्चुलाका उत्तम थापाले पनि प्राण अर्पण गरे।उनीहरू राष्ट्रले सधैं स्मरण गर्ने कर्तव्यशील प्रहरीका अमर सन्तान बनेका छन्।फोटो स्रोत: सुनौलो नेपाल