काठमाडौं, २१ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आगामी फागुन १ गतेदेखि संयुक्त रूपमा देशव्यापी चुनावी अभियान सुरु गर्ने भएका छन्। स्रोतका अनुसार दुवै नेताले सातै प्रदेशका प्रमुख सहर तथा रणनीतिक चुनावी क्षेत्रहरूमा संयुक्त सम्बोधन गर्ने गरी विस्तृत कार्यतालिका तयार पारिसकेका छन्।
अभियानको मूल लक्ष्य प्रत्यक्ष जनसम्पर्क रहने बताइएको छ। समय र परिस्थिति अनुकूल भएमा रवि-बालेनले घरदैलो अभियानलाई प्राथमिकता दिँदै अधिकतम मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना बनाएका छन्। यसले वैकल्पिक राजनीतिप्रतिको जनअपेक्षा र उत्साहलाई थप उचाइमा पुर्याउने आकलन गरिएको छ।
हाल बालेन्द्र शाह पूर्वी नेपालमा चुनावी प्रचारप्रसारमा सक्रिय छन्। उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। अर्कोतर्फ, खुट्टामा चोट लागेका कारण चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका रवि लामिछाने भोलि (बुधबार) आफ्नो निर्वाचन क्षेत्र चितवन-२ जाने कार्यक्रम रहेको छ।
चितवन पुगेपछि लामिछानेले केही समय घरदैलो अभियान नगरी आफ्नै निवासमा सीमित भेटघाट र चुनावी रणनीति निर्माणमा केन्द्रित रहने बताइएको छ। स्वास्थ्य अवस्था सहज बन्दै गएपछि उनी पनि पूर्ण रूपमा मैदानमा उत्रिने तयारीमा छन्।
राजनीतिक वृत्तमा रवि-बालेनको संयुक्त अभियानलाई आगामी निर्वाचनको निर्णायक शक्ति सन्तुलन बदल्न सक्ने पहलका रूपमा हेरिएको छ। नयाँ शैली, प्रत्यक्ष संवाद र संयुक्त नेतृत्वको सन्देशले मतदातामा नयाँ आशा र विकल्पको विश्वास थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।