एक वर्षमा तोलामा ७२ हजारले उक्लियो सुनको मूल्य, नयाँ इतिहास रच्यो बजारले

ecopolinews.com

काठमाडौं, असोज २० । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। गत वर्षको असोजमा तोलाको एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको सुन सोमबार दुई लाख ३३ हजार एक सय रुपैयाँमा पुगेको छ।

मात्र एक वर्षमै तोलाको मूल्य ७२ हजार एक सय रुपैयाँले वृद्धि भएको हो। दसैं सकिएसँगै दुई दिनमै मात्र सुन तोलामा १० हजार रुपैयाँले बढेको छ।

२०७८ फागुन २२ गते पहिलो पटक तोलाको एक लाख रुपैयाँ नाघेको सुन अहिले साढे तीन वर्षमै दुई लाख नाघ्दै नयाँ रेकर्ड बनाएको छ।

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको दरका आधारमा तोकिन्छ। सोमबार बिहानसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३९३५ अमेरिकी डलरमा कारोबार भइरहेको थियो।

विशेषज्ञहरूका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेड)ले ब्याजदर घटाउने नीति लिएपछि डलर कमजोर हुने अनुमानले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्। यससँगै व्यापारिक तनाव, युद्धजन्य अवस्था र विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाउन थालेकाले पनि मूल्यमा निरन्तर वृद्धि भइरहेको छ।

यदि यही प्रवृत्ति जारी रह्यो भने सन् २०२५ अन्त्यसम्म सुनको मूल्य प्रति औंस चार हजार अमेरिकी डलर पार गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया