विश्व प्रकाश शर्माको सातबुँदे राजनीतिक हस्तक्षेप : गगन थापाको राजीनामा रोक्न केन्द्रीय समितिमा शक्तिशाली प्रस्ताव

ecopolinews.com

नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोड ल्याउने गरी उपसभापति Bishwo Prakash Sharmaले सभापति Gagan Thapaको राजीनामा अस्वीकृत गर्न केन्द्रीय समिति बैठकमा सातबुँदे प्रस्ताव पेश गरेका छन्। शुक्रबार बसेको बैठकमा शर्माले प्रस्तुत गरेको प्रस्तावले केवल राजीनामा रोक्ने प्रयास मात्र होइन, चुनावी पराजयपछि पार्टीलाई पुनर्गठन गर्दै नयाँ राजनीतिक आत्मविश्वास निर्माण गर्ने स्पष्ट सन्देश दिएको छ।

फागुन २१ को निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नैतिक जिम्मेवारी स्वीकार्दै थापाले पदत्याग घोषणा गरेका थिए। तर शर्माले त्यसलाई व्यक्तिगत निर्णयभन्दा माथि उठाएर संगठनको भविष्यसँग जोड्दै अहिलेको चुनौतीपूर्ण घडीमा नेतृत्व परिवर्तन होइन, नेतृत्वको स्थायित्व आवश्यक रहेको तर्क अघि सारे।

प्रस्तावमा उल्लेख गरिएको छ- राजनीतिमा सरकारको प्रारम्भिक सय दिनलाई ‘हनिमुन पिरियड’ भनिएझैँ, विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वको केवल पचास दिनमै सम्पूर्ण मूल्यांकन गर्नु न त न्यायोचित हुन्छ, न त राजनीतिक रूपमा परिपक्व निर्णय। यस्तो अवस्थामा प्रतिकूल परिस्थितिलाई अनुकूलतामा बदल्ने जिम्मेवारी बोकेको नेतृत्वले बीचमै कमान्ड छोड्नु संगठनप्रति अन्याय हुने निष्कर्ष प्रस्तावमा राखिएको छ।

शर्माले सभापतिको नैतिक संवेदनशीलताको प्रशंसा गर्दै भनेका छन्- अहिलेको सबैभन्दा ठूलो नैतिक दायित्व संकट व्यवस्थापन गर्नु हो, त्यसैले थापाको राजीनामा अस्वीकृत गरिनुपर्छ।

सातबुँदे प्रस्तावमार्फत उनले कांग्रेस पहिलो दल बन्न नसके पनि पार्टीले लिएको मूल वैचारिक मार्गको विजय भएको दाबी गरेका छन्। संविधान, संसदीय व्यवस्था, संघीयता, सामाजिक न्याय र उदार अर्थतन्त्रजस्ता एजेन्डा अहिले राष्ट्रिय सहमतिका आधार बनेको उनको भनाइ छ।

त्यसैगरी, संसदमा दोस्रो शक्ति बनेर कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै सरकारका राम्रा काममा समर्थन र कमजोरीमा कठोर प्रतिवाद गर्ने रणनीति स्पष्ट गरिएको छ।

प्रस्तावले चुनावी पराजयका बाबजुद पार्टीपंक्तिमा निराशा नभई नयाँ ऊर्जा देखिएको निष्कर्ष पनि निकालेको छ। विशेष महाधिवेशनले पार्टीभित्र रक्तसञ्चार गरेको, कार्यकर्तामा नयाँ आशा जगाएको र अझ खराब अवस्थाबाट पार्टीलाई जोगाएको मूल्यांकन गरिएको छ।

शर्माले बौद्धिक क्षेत्रबाट समेत ‘अब कांग्रेस पछाडि फर्किनु हुँदैन, नयाँ योजनासहित अघि बढ्नुपर्छ’ भन्ने धारणा बलियो देखिएको उल्लेख गर्दै आगामी महाधिवेशनसम्म सबै धारलाई एकताबद्ध गर्नुपर्ने बताएका छन्।

उनले नागरिक असन्तुष्टि मतमार्फत प्रकट भइसकेकाले अब त्यसलाई विगत मानेर नयाँ संकल्प, नयाँ विश्वास र नवीन ऊर्जासहित कांग्रेस अघि बढ्नुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन्।

प्रतिक्रिया