काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान गर्दै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई पक्राउ गर्ने साहसिक कदम चालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबी प्रमुखका रूपमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षकमा बढुवा भएपछि ब्यूरो कार्यवाहकमै चल्दै आएको थियो।
केसी नेतृत्वको टोलीले २०७९ चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेर नक्कली भुटानी शरणार्थी प्रकरण उजागर गरेको थियो। सोही अनुसन्धानका क्रममा गृह मन्त्रालयका उच्च तहका अधिकारीसम्मको संलग्नता खुलेपछि उनले तत्कालीन सत्ता गठबन्धनको दबाब सहनुपरेको थियो र जिम्मेवारीबाट समेत हटाइएका थिए।
राजनीतिक दबाबका कारण लामो समय उपेक्षित बनेका केसी फेरि मुलुककै संवेदनशील अनुसन्धान संस्थाको नेतृत्वमा फर्किएका छन्। उनको नियुक्तिलाई प्रहरी संगठनभित्र साहस र इमानदारीको सम्मानका रूपमा हेरिएको छ।