कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : बन्द सत्रदेखि निर्वाचन प्रक्रियासम्म, आज के–के हुँदैछ?

ecopolinews.com

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज (सोमबार) पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण छलफलसँगै नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया पनि अघि बढ्ने भएको छ।

आइतबार काठमाडौँमा भव्य उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुने भएको हो। बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

बन्द सत्रमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफलसँगै कांग्रेसको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको भावी रणनीतिबारे प्रतिनिधिहरूबीच बहस हुने अपेक्षा गरिएको छ।

आजैबाट नेतृत्व चयनको प्रक्रिया पनि तीव्र

महाधिवेशनको दोस्रो दिनको अर्को महत्वपूर्ण पक्ष भनेको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नु हो। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज साँझदेखि निर्वाचनसम्बन्धी प्रारम्भिक प्रक्रिया सुरु हुनेछ।

कार्यतालिकाअनुसार बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। प्रकाशित नामावलीमाथि दाबी–विरोध दर्ता गर्न बेलुका ६ः३० बजेसम्मको समय तोकिएको छ।

त्यसपछि प्राप्त दाबी–विरोधमाथि निर्वाचन समितिले आवश्यक जाँचबुझ गर्नेछ। त्यसका लागि बेलुका ७ः३० बजेसम्मको समय तोकिएको छ।

दाबी–विरोधको प्रक्रिया टुंग्याएपछि निर्वाचन समितिले आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशन औपचारिक उद्घाटन र बन्द सत्रबाट क्रमशः नयाँ नेतृत्व चयनको निर्णायक चरणतर्फ प्रवेश गर्नेछ।

महाधिवेशनको दोस्रो दिन विशेषगरी राजनीतिक प्रतिवेदनमा हुने छलफल र निर्वाचन प्रक्रियाको सुरुवातलाई कांग्रेसको आगामी नेतृत्व, संगठन र राजनीतिक दिशाका दृष्टिले महत्वपूर्ण मानिएको छ। प्रतिनिधिहरूको सहभागिता, नेतृत्वप्रतिको धारणा र निर्वाचन प्रक्रियामा देखिने गतिविधिले महाधिवेशनको आगामी माहोलसमेत निर्धारण गर्ने देखिन्छ। रिपोर्टर्स नेपाल


प्रतिक्रिया