काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारमा रहेका अनधिकृत सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत प्रहरीले थापाथली क्षेत्रबाट सुकुमबासी नेताहरूलाई पक्राउ गर्न सुरु गरेको छ। हटाउने कार्यमा अवरोध सिर्जना गर्न सक्ने आशङ्कामा प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनारलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बस्ती खाली गराउने क्रममा हुनसक्ने सम्भावित झडप र उत्तेजनालाई रोक्न पूर्व-सावधानी स्वरूप उनीहरूलाई पक्राउ गरिएको हो। यसअघि शुक्रबार मात्रै प्रहरीले मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई पक्राउ गरेको थियो, जो २०७९ सालमा महानगरको टोलीमाथि आक्रमण गरेको 'ज्यान मार्ने उद्योग' मुद्दामा फरार अभियुक्त समेत हुन्।
सरकारले आज थापाथली मात्र नभई गैह्रीगाउँ र मनहरा फाँटमा रहेका अतिक्रमित बस्तीहरू पनि एकसाथ खाली गर्दैछ। नदीको बहावमा अवरोध पुगेको र सहरी विकासका योजनाहरू ठप्प भएको भन्दै गृह प्रशासनले यो कडा कदम चालेको हो। बस्ती क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित अवरोधलाई चिर्दै डोजर प्रयोग गरेर अनधिकृत संरचना भत्काउने तयारी पूरा भएको छ। प्रशासनको यो 'एक्सन' सँगै वर्षौँदेखि कायम रहेको सार्वजनिक जग्गा अतिक्रमण हट्ने र बागमती कोरिडोर निर्माणले गति लिने विश्वास गरिएको छ।