काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएका युवाहरू र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन । करिब चार घण्टा लामो छलफलपछि पनि दुबै पक्षबीच सहमति नजुट्दा जेनजी घाइते नेताहरू प्रधानमन्त्रीप्रति आक्रोशित बनेका छन् ।
सरकारले मिडियामार्फत ‘घाइते जेनजीहरू निर्वाचनमा जान तयार भएका छन्’ भन्ने प्रचार गरे पनि, सहभागी युवाहरूले त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनीहरूका अनुसार सरकारले केवल ‘निर्वाचन’ रटान दोहोर्याउँदा आफूहरू निराश बनेका हुन् ।
रुपिन खड्काको नेतृत्वमा १८ जना घाइते आन्दोलनकारी प्रधानमन्त्री कार्कीसँग वार्ता गर्न पुगेका थिए । वार्तामा प्रधानमन्त्रीसँगै ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल पनि उपस्थित थिए ।
घाइते प्रतिनिधिहरूले संविधान संशोधनदेखि जनमतसंग्रह र भ्रष्ट नेताहरूमाथि कडा कारबाहीसम्मका मागहरू राखेका थिए । उनका अनुसार प्रधानमन्त्रीले नेताहरूलाई पक्राउ गर्दा ‘सुरक्षा खतरा’ हुने कारण देखाएका थिए । एक सहभागीले भने,
“प्रधानमन्त्रीले भन्नुभयो – अहिले नै ठूला नेताहरूलाई पक्राउ गरिहाल्दा ममाथि पनि गोली चल्न सक्छ ।”
वार्तामा बारबरा फाउन्डेसन को नाम आउँदा प्रधानमन्त्री कार्की आक्रोशित भएको सहभागीहरूको भनाइ छ ।
एक घाइते अगूवाले प्रधानमन्त्रीलाई सोधे,
“यो सरकार एनजीओको सहयोगमा बनेको भनिन्छ, बारबरा फाउन्डेसनको भूमिका के हो ? हामीले त तपाईंलाई छानेका थिएनौँ नि !”
यो प्रश्नपछि प्रधानमन्त्री रिसाएको र ‘बारबराको योगदानको गुणगान गाउन थालेको’ सहभागीहरूले बताएका छन् । सञ्चारमन्त्री खरेलले पनि बारबराले नेपालका पत्रकार र संस्थाहरूसँग सहयोग गरेको उल्लेख गरेका थिए ।
त्यस्तै, जनमतसंग्रहको कुरा उठ्दा प्रधानमन्त्रीले ‘तपाईंहरूलाई स्वागत नेपालले सिकाएर पठाएको हो ?’ भन्दै असन्तुष्टि जनाएका थिए ।
घाइतेहरूका अनुसार उनीहरूको आन्दोलन २०८४ को निर्वाचन अघि सार्नका लागि होइन, भ्रष्टाचारमुक्त देश र सुशासनका लागि भएको हो । उनीहरूले संविधानमा रहेका कानुनी बाधा फुकाउन सरकारसँग माग गरेका छन् ।
अगुवा रूपिन खड्काले भने,
“हामी जसका विरुद्ध उठ्यौँ, तिनीहरू किन अझै खुला छन् ? नियम, कानून वा संविधानले छेक्दैछ भने त्यहीँबाट फुकाउनुस् । सरकार के २०८४ को चुनाव २०८२ मा सार्न मात्र बनेको हो ?”
प्रधानमन्त्री कार्कीले जवाफ दिइन्,
“हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । कानुनी सीमाभित्र रहेर भ्रष्टाचारमाथि अनुसन्धान गर्छौँ । तपाईंहरूले पनि बोल्न र दबाब दिन छोड्नुपर्छ भन्ने होइन, परिणाम देखिनेछ ।”
बैठक अन्त्यपछि प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा घाइते जेनजीहरूले ‘भ्रष्टाचारमाथि कडा कारबाही नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी’ दिएको उल्लेख छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा भएका दमन र भ्रष्टाचारसम्बन्धी छानबिनबारे सहभागीहरूलाई व्रिफिङ दिएका थिए ।
चार घण्टाको लामो वार्तापछि पनि जेनजी घाइते नेताहरू असन्तुष्ट बनेका छन् । उनीहरूले संविधान संशोधन, भ्रष्टाचारमाथि कडा कदम र जनमतसंग्रहको माग दोहोर्याएका छन् भने प्रधानमन्त्री कार्कीले “कानुनी प्रक्रिया
भित्रै रहेर अघि बढ्ने” अडान दोहोराएकी छिन् ।