काठमाडौं, २९ कात्तिक ।नेपाली राजनीति फेरि एकपटक नयाँ मोडतिर मोडिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारले आज नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्माको नेतृत्वमा अघि बढिरहेको प्रगतिशील राष्ट्रिय अभियानसँग नयाँ ५ बुँदे ऐतिहासिक सहमति गर्दै देशको राजनीतिक परिवेशलाई ‘पुनः परिभाषित’ गर्ने संकेत दिएका छन्।
नेसपा (नयाँ शक्ति) तर्फबाट दुर्गा सोव, प्रगतिशील जागरण अभियान तर्फबाट सुदन किराती, र नयाँ मात्र रास्वपा छाडेका सन्तोष परियारले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रमलाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका प्रमुख चेहरा डा. बाबुराम भट्टराई, नेता जनार्दन शर्मा लगायत उच्च नेताहरुले आफ्नै उपस्थितिद्वारा अझै ‘गंभीर राजनीतिक सन्देश’ दिएका छन्।
सहमति अनुसार, गठन हुने नयाँ एकीकृत शक्तिको पार्टी नाम र चुनाव चिन्ह एकै राख्ने, र मंसिर ७ गते भव्य एकता घोषणा समारोह गर्ने योजना सार्वजनिक गरिएको छ।
यससहित, देश–विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त शक्ति र विशेषगरी जेन–जी पुस्तालाई व्यापक राजनीतिक पुनर्संरचनामा सहभागी हुन खुला आह्वान गरिएको छ—जसले नयाँ पुस्तालाई केन्द्रमा राखेर ‘नयाँ राजनीतिक संस्कृति’ निर्माण गर्ने संकेत गर्छ।
यो सहमति, अनेकौं टुक्रिएका प्रगतिशील शक्तिहरूलाई एउटै मूलधारमा ल्याउने ‘गम्भीर प्रयास’ का रूपमा विश्लेषण भइरहेको छ। नेपाली राजनीतिक वृत्तमा यसले ल्याउने प्रभाव अहिले नै चर्चा–विमर्शको केन्द्र बनेको छ।