काठमाडौं, १९ भदौ — नेकपा एमालेको विधान महाधिवेशनअघि बसेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे लामो छलफल भएको छ। झण्डै पाँच घण्टा चलेको बैठकमा नेताहरू दुई धारमा विभाजित भए।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’ र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतले भण्डारीलाई रोक्ने निर्णय सच्याउनुपर्ने तर्क प्रस्तुत गरे। उनीहरूले सदस्यता नवीकरण रोकिनु एमालेको आन्तरिक लोकतन्त्र र छविमाथि नकारात्मक प्रभाव पर्ने दाबी गरे।
तर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउनु राम्रो परम्परा नहुने भन्दै रोक्ने निर्णयको समर्थन गरिन्। अध्यक्ष केपी शर्मा ओलीले भने भण्डारीबारे केन्द्रीय कमिटीले गरिसकेको निर्णयलाई महाधिवेशनको एजेन्डा नबनाउने अडान व्यक्त गरे।
यसरी भण्डारीको राजनीतिक भूमिकाबारे एमालेभित्र अझै पनि विवाद तीव्र बनेको छ।