नेपाल डेभलपमेन्ट पब्लिकको वार्षिक साधारणसभा सम्पन्न : गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्दै रोजगारमूलक परियोजनामा अग्रसर

ecopolinews.com

काठमाडौं, कार्तिक १५ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (NDP) ले आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गर्दै ठूला र रोजगारमूलक परियोजनामा लगानी विस्तार गर्ने रणनीतिक योजना सार्वजनिक गरेको छ। कम्पनीले सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत सहकार्य गर्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका ठूला सहरी परियोजनासँगै कृषि, घरेलु तथा साना-मझौला उद्योगमा समेत लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले “देशको शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन र व्यवसायीको मनोबल पुनःजागृत गर्न यो कम्पनी निर्णायक भूमिका खेल्नेछ” भन्ने विश्वास व्यक्त गरे।

ढकालका अनुसार, कम्पनीले लगानी विविधीकरण र जोखिम व्यवस्थापनका नयाँ प्रणाली विकास गरी लगानीलाई सुरक्षित र व्यवस्थित बनाउने प्रयास सुरु गरिसकेको छ। उनले राज्यले व्यवसाय र लगानीको सुरक्षाको प्रत्याभूति गर्न सके मात्र दीर्घकालीन आर्थिक पुनरुत्थान सम्भव हुने बताए।

ढकालले हालै अमेरिकामा आईएमएफको कार्यक्रममा सहभागिताका क्रममा गैरआवासीय नेपाली (NRN) समुदायले नेपालमा लगानीप्रतिको उच्च चासो देखाएको जानकारी पनि दिए। उनले भने, “विदेशमा रहेका धेरै नेपाली उद्यमीहरु नेपालमा ठूला परियोजनामा सहभागी हुन इच्छुक छन्। हामीले उनीहरूका लागि विश्वसनीय लगानीको माध्यम बन्नुपर्छ।”

कम्पनीले आगामी चरणमा “NDP Ventures” र “NDP Developers” नामक दुई अलग संरचना स्थापना गर्ने निर्णय गरेको छ, जसमार्फत सहरी पूर्वाधार, आवास तथा औद्योगिक क्षेत्रमा लगानी गरिनेछ। साथै, स्वदेश तथा विदेशमा रहेका व्यवसायी र लगानीकर्ताहरुलाई परामर्श सेवा, समस्याग्रस्त उद्योगहरूको पुनर्जीवन र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनामा सहकार्य गरिने बताइएको छ।

एक वर्षअघि स्थापना भएको कम्पनीको कूल पूँजी रु १० अर्ब रहेको छ भने हालसम्म ४६ जिल्लाका २४६ शेयरधनी संलग्न छन्। कम्पनी स्थापना नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा भएको हो।

ढकालले निष्कर्षमा भने, “हामी सबै उद्यमी, व्यवसायी र विश्वभरका गैरआवासीय नेपालीले मिलेर उत्पादन वृद्धि, रोजगारी सृजना र मुलुकको आर्थिक समृद्धिमा ठोस योगदान गर्न सक्छौं। यो कम्पनी त्यसै यात्राको प्रारम्भिक अध्याय हो।”

प्रतिक्रिया