रविन्द्र कट्टेल - काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार नुवाकोटको विदुर पुगेका छन्।
प्रधानमन्त्री शाह विदुर नगरपालिका–स्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा पुगेपछि प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग बाढीपछिको अवस्थाबारे विस्तृत ब्रिफिङ लिएका छन्। ब्रिफिङमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला प्रहरी प्रमुख विपीन रेग्मीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज तथा उद्धारको अवस्था र प्रभावित क्षेत्रमा भइरहेका राहत प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
ब्रिफिङ सकिएपछि प्रधानमन्त्री शाह अहिले बाढीबाट प्रभावित तथा घाइते नागरिकसँग भेटघाट गरिरहेका छन्। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार प्रधानमन्त्री शाहले बैठकपछि घाइतेहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिइरहेका छन्।
भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै नुवाकोटका विभिन्न क्षेत्रमा समेत पुगेपछि जिल्लामा ठूलो क्षति भएको छ। बाढीले घरबस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै नागरिकको जनजीवन प्रभावित बनाएको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी छ।
प्रधानमन्त्री शाह बिहीबार बिहानै सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटतर्फ प्रस्थान गरेका थिए। स्थलगत निरीक्षणका क्रममा उनले उद्धार कार्यको प्रभावकारिता, प्रभावित नागरिकको तत्कालीन आवश्यकता तथा क्षतिग्रस्त पूर्वाधारको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने बताइएको छ।
प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसमेत विदुर पुगेका छन्।
सरकारको उच्चस्तरीय टोली नै बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्थाको प्रत्यक्ष निरीक्षण गर्न थालेपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिको यकिन विवरण संकलनसँगै तत्काल प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार, जोखिममा रहेका बस्तीको सुरक्षा र अत्यावश्यक पूर्वाधार पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।