काठमाडौं — पहिलो पटक आयोजित ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबार नेपाल कला परिषद्, बबरमहलमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाललाई चिनाउने प्रमुख आधार कला, संस्कृति र सम्पदा भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा पु¥याउने विश्वास व्यक्त गरे।
२३ दिनसम्म काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा चल्ने महोत्सवमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिनेछन्। साथै सांस्कृतिक प्रदर्शनी, संगीत–नृत्य, कला–कौशल, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर उपलब्ध हुनेछ।
“नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु भएको यो महोत्सव असोज ११ गतेसम्म सञ्चालन हुनेछ।
२० भदौ २०८२, शुक्रबार ०३:३० मा प्रकाशित