रविन्द्र कट्टेल
२७ भदौ, काठमाडौं।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सानोठिमीस्थित शाखाले बिहीबार मात्र १४१ वटा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी गरेको छ। विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सहज सेवा उपलब्ध गराउन कार्यालय प्रमुख वासुदेव वस्ती निरन्तर सक्रिय देखिएका छन्।
वस्तीका अनुसार, एकैदिन १४१ एनओसी जारी गर्नुका साथै ८ वटा पुराना एनओसी रद्द गरिएको र १ वटा प्रोभिजनल एनओसी दिइएको छ। उनले विद्यार्थीलाई कुनै पनि असहजता नहोस् भन्ने लक्ष्यका साथ अतिरिक्त मेहनत भइरहेको बताए।
“विद्यार्थीले ठूलो लगानी गरेर विदेशमा पढ्न जाने तयारी गर्छन्। शुल्क तिर्नुपर्ने हुन्छ, कागजात जुटाउनुपर्ने हुन्छ। एनओसी ढिला हुँदा उनीहरूलाई असहज नहोस् भनेर हामी छिट्टै काम गर्दै आएका छौं,” वस्तीले भने।
शाखाले बिहीबार मात्र ४६९ वटा कागजात सत्यापन गरेको छ भने २५८ वटा एनओसी कागजात अपुरो भएकाले रद्द गरिएको छ। त्यस्तै, हिजो बेलुकी ८ बजेसम्म ११८ जनाले अनलाइनमार्फत नयाँ आवेदन दिएका छन्।
वस्तीले सेवा प्रवाहलाई अझ चुस्त बनाउन अनलाइन प्रणालीलाई प्राथमिकता दिइएको बताए। “आवश्यक परे अतिरिक्त समय दिएर पनि काम गर्छौं। शनिबार समेत कार्यालय खोल्न तयार छौं,” वस्तीले भने।
विद्यार्थीमैत्री कार्यशैलीका कारण शाखा प्रमुख वासुदेव वस्तीले अहिले एनओसी सेवामा सकारात्मक विश्वास र भरोसा जगाउन सफल भएको देखिन्छ।