धनीलाई पापी ठान्ने सोच कायम रह्यो भने नेपाल खरानी भएर जान्छ: डा.उपेन्द्र महतो

ecopolinews.com

काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसायी डा. उपेन्द्र महतोले आफ्नो १५० वर्ष पुरानो ऐतिहासिक निवासमा भएको तोडफोड, लुटपाट र आगजनीप्रति गहिरो दुःख व्यक्त गर्दै पनि नेपालकै समृद्ध भविष्यका लागि निरन्तर योगदान गर्ने अठोट व्यक्त गरेका छन्।

गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा विशालनगरस्थित उनको राणाकालीन निवासमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। उक्त निवासलाई उनले नेपालकै गौरव र म्युजियम सरहको धरोहरका रूपमा संरक्षण गर्दै आएका थिए।

डा. महतोले भने, “जसले सेफ फुटाएर पैसा, गरगहना, सामान लुटे, उनीहरू लुटेरा हुन्, आन्दोलनकारी होइनन्। यो घर मेरो व्यक्तिगत मात्र होइन, नेपालकै शान थियो। त्यहाँ मैले पत्नीले सजाएको एन्टिक वस्तु र विश्वभरबाट ल्याएको संग्रह राखेको थिएँ।”

उनले याद गरे, यही घर गैरआवासीय नेपालीका लागि भेटघाट र अभियानको थलो भएको, र आफ्ना सन्तानलाई स्वदेश फर्किन प्रेरित गर्ने ठाउँ बनेको थियो।

महतोले चेतावनी दिँदै भने, “धनी भनेका सबै पापी वा शोषणकारी हुन् भन्ने सोच पालियो भने यो देश अझै खरानी भएर जान्छ। विकास चाहिएको हो भने प्रत्येक नेपाली धनी बन्नुपर्नेछ।”

उनले सरकारलाई लुटेराहरूमाथि कडा कारबाही गर्न र मेहनत गरेर धन आर्जन गर्न सकिन्छ भन्ने चेतना फैलाउन आग्रह गरे। रसियामा रहँदा ‘जहाँ गए पनि समस्या हुन्छ, तर भागेर होइन, समाधान गरेर अघि बढ्नुपर्छ’ भन्ने शिक्षा पाएको उल्लेख गर्दै उनले नेपाललाई खरानी हुनबाट बचाउन अब सबै मिलेर अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया