छ जनाको ‘GenZ ड्रिफ्ट’: कुलमानको ‘उज्यालो अभियान’तिर प्रदेश संयोजकहरूको एकैचोटि मोड

ecopolinews.com

उर्जामन्त्री कुलमान घिसिङले दर्ता गर्न लागिरहेको नयाँ राजनीतिक दलले अचानक युवा उर्जाको ठूलो झट्का पाएको छ। ‘द काउन्सिल अफ जेनजी’ का छ प्रदेश संयोजक नेतृत्वसहित कुलमानको पार्टीमा प्रवेश गरेका छन्, जसले विकल्प खोजिरहेको नेपाली राजनीतिक भूमिमा एक किसिमको कम्पन पैदा गरिदिएको छ।

बागमतीकी अफसाना बानु, मधेसका शिव यादव, गण्डकीका प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमका खेमराज साउद र कर्णालीका प्रकाश खड्का अब कुलमानको राजनीतिक टिममा उभिने निश्चित भएको छ। उनीहरूलाई केन्द्रीय सदस्यको भूमिकामा उतारिने तयारी थालिएको छ।

कुलमान घिसिङले ‘उज्यालो नेपाल’ नामक पार्टी दर्ताको अन्तिम चरण पार गरिरहेका छन्। पार्टीले बिजुलीको चिमलाई चुनाव चिन्ह माग्ने बताइएको छ। हालका लागि पार्टी संयोजकमा पूर्वसचिव अनुपकुमार उपाध्याय रहनेछन्। कुलमान भने चुनाव नजिकिँदै गर्दा मात्रै मन्त्री पद छाडेर नेतृत्व सम्हाल्ने रणनीतिमा छन्।

यो प्रवेशसँगै राजनीतिक बजारमा अर्को चर्चा पनि तातिएको छ। काठमाडौँका मेयर बालेन्द्र शाह (Balen) र सुदन गुरुङ निकट टोलीको समर्थन यस पार्टीतिर केन्द्रित भएको देखिन्छ, यद्यपि सुदन स्वयं पार्टीमा नजाने तर उनका GenZ युवा अगुवाहरू जोडिने पुष्टि भइसकेको छ।

मधेस संयोजक शिव यादव भन्छन्,

“हामी विकल्प मात्रै होइन, नयाँ राजनीतिक गणितमा प्रवेश गर्दैछौँ। नेतृत्व कुलमान नै हो।”

यद्यपि कथा यहाँ पूरा हुँदैन। कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ अझै अनिश्चित मुद्रामा छन्।

उनको भनाइ छ—

“आत्माले स्वीकार नगरेका केही स्पष्टता नआउँदासम्म म जोडिन सक्दिन।”

तर गण्डकी संयोजक प्रदीप पाण्डे भोलिमै उपार्जुन पनि सहभागी हुने दाबी गर्छन्।

उनी भन्छन्,

“हामी सबै मिलेर जाँदैछौँ। यो एउटा नयाँ लडाइँ हो, एक्लैले सम्भव छैन।”

पार्टीको प्राथमिक संरचना, केन्द्रीय सदस्यहरूका हस्ताक्षरदेखि नीति–दिशासम्म तयार हुँदैछ। पार्टीको चरित्र ‘सेन्टर-टु-लेफ्ट’ हुने संकेत दिइएको छ।

यसबीच, रास्वपामा मिसिने प्रयास असफल भएपछि कुलमानले अलग मार्ग छनोट गरेका हुन्। अन्तिम समयमा पार्टी नाममा नबुझेपछि सुमना श्रेष्ठ अलगिनुले नयाँ दलभित्रको प्रारम्भिक मतभिन्नता पनि झल्किन्छ।

राजनीतिक मञ्चमा एकाएक देखा परेको यो GenZ र ऊर्जा-कन्द्रित गठबन्धनले आगामी दिनमा कस्तो प्रभाव छोड्छ, त्यो अब नेपाली राजनीतिले हेर्न बाँकी छ।

प्रतिक्रिया