अन्य पार्टीका पोस्टमा ‘लाइक-सेयर’ नगर्न कञ्चनपुर कांग्रेसको उर्दी

ecopolinews.com

कञ्चनपुर । २१ फागुनमा हुने निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस कञ्चनपुरले आफ्ना नेता–कार्यकर्तालाई कडा निर्देशन जारी गरेको छ। पार्टीले विज्ञप्तिमार्फत आफ्ना उम्मेदवारबाहेक अन्य दलका उम्मेदवारहरूको सामाजिक सञ्जाल पोस्टमा लाइक, सेयर वा कमेन्ट नगर्न उर्दी दिएको हो।

पार्टी सचिव भीमराज भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीका उम्मेदवारबाहेक अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट, लाइक वा प्रचार–प्रसार नगर्न निर्देशनअनुसार अनुरोध गरिन्छ।”

कांग्रेसले यसलाई संगठनात्मक अनुशासनको विषयका रूपमा लिँदै डिजिटल प्लेटफर्ममा एकीकृत सन्देश प्रवाह गर्न खोजेको देखिन्छ।

स्थानीय केन्द्रित अभियानमा जोड

विज्ञप्तिमा उम्मेदवारसँगै भीडभाड गर्दै हिँड्ने तर स्थानीय तहमा मतदातासँग प्रत्यक्ष छलफल नगर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। नेता–कार्यकर्तालाई आ–आफ्नो वडामा केन्द्रित भई पार्टी जिताउने अभियानमा सक्रिय हुन आग्रह गरिएको छ।

डिजिटल प्रतिस्पर्धामा ‘कांग्रेस २.०’

नेपाली कांग्रेसले यसपटक १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ। पार्टीको आधिकारिक फेसबुक पेजमा सबै उम्मेदवारको प्रचार सामग्री राखिएको छ भने प्रोफाइल र कभर फोटो परिवर्तन गर्दै रुख चिन्हमा मतदान गर्न अपिल गरिएको छ।

टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बदलिँदो राजनीतिक परिवेशमा प्रविधिको उपयोग अपरिहार्य बनेको बताए।

उनले भने, “परम्परागत प्रचार शैलीलाई प्रविधिले विस्थापित गरिसकेको छ। त्यसैले अब हामीले पनि डिजिटल माध्यमको प्रभावकारिता महसुस गर्दै त्यसलाई प्राथमिकताका साथ प्रयोग गरिरहेका छौँ।”

पार्टीले छुट्टै डिजिटल युनिट गठन गरी उम्मेदवारहरूको सामग्री व्यापक रूपमा मतदातामाझ पुर्‍याइरहेको जनाएको छ।

गगन थापाको नीति–केन्द्रित डिजिटल उपस्थिति

सभापति गगन थापा सामाजिक सञ्जालमा अत्यन्त सक्रिय देखिएका छन्। हालै सार्वजनिक भिडियो सन्देशमार्फत उनले स्वास्थ्य बीमा र पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाएका छन्।

थापाले भनेका छन्, “पैसाको अभावका कारण कुनै पनि नेपाली उपचारबाट वञ्चित हुने छैनन्। स्वास्थ्य बीमामा सुधार गर्दै हरेक नागरिकलाई समेट्ने हाम्रो संकल्प छ।”

उनका अनुसार नेपालमा नागरिकले आफ्नै खल्तीबाट गर्ने स्वास्थ्य खर्च करिब ५७ प्रतिशत पुगेको छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो।

पूर्वाधार विकासबारे उनले आगामी पाँच वर्षभित्र रूपान्तरणकारी परिवर्तन सम्भव रहेको दाबी गर्दै कानुनी सुधार, संस्थागत क्षमता अभिवृद्धि र नयाँ वित्तीय मोडल अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

गठबन्धन अन्त्यको सन्देश

कांग्रेसले यसपटक देशभर रुख चिन्हमै मतदान गर्न पाइने अवस्थालाई ‘कांग्रेस २.०’ अभियानको रूपमा प्रस्तुत गरेको छ। यसलाई गठबन्धनको राजनीति अन्त्य गर्ने ऐतिहासिक सुरुवातका रूपमा व्याख्या गरिएको छ।

“सही व्यक्ति, सही ठाउँ” नारासहित कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई जिताउन अपिल गर्दै डिजिटल र भौतिक दुवै मोर्चाबाट चुनावी प्रतिस्पर्धा चर्काएको छ।

चुनावी मैदान अब केवल सभा–जुलुसमा सीमित छैन; सामाजिक सञ्जालमै मतदाताको मन जित्ने होड सुरु भइसकेको छ।

प्रतिक्रिया