‘अनिर्णित’ वार्ता फेरि चलायमान: बालेन-रविलाई भेटाउन कुलमानलाई गाडीमै राखेर लगे सुदनले

ecopolinews.com

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार भएको सहमतिबाट बाहिरिएका कुलमान घिसिङलाई समेट्ने प्रयास फेरि तीव्र बनेको छ। अनिर्णित अवस्थामा पुगेको वार्तालाई पुनः जीवित पार्न जेनजी अभियानीहरू सक्रिय रूपमा लागेका छन्।

स्रोतका अनुसार जेनजी अभियानी सुदन गुरुङ, जेम्स कार्की र ओजस्वी थापाले कुलमान घिसिङलाई आफैं गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगिरहेका छन्। सहमतिको ढोका बन्द नहोस् भन्ने उद्देश्यसहित सुरु गरिएको यो पहललाई निर्णायक प्रयासका रूपमा हेरिएको छ।

यसैबीच, वार्तामा सहभागी हुन रवि लामिछानेले रास्वपाको जारी केन्द्रीय समिति बैठक छाडेर हिँडिसकेको रास्वपा स्रोतले जनाएको छ। यसले पार्टीभित्र र बाहिर दुवैतर्फ राजनीतिक तरंग सिर्जना गरेको छ।

यसअघि कुलमान पक्षले रास्वपामा सह-सभापति पदसहित केन्द्रीय समिति, समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारतर्फ उज्यालो नेपाल पार्टीले ३० प्रतिशत हिस्सा पाउनुपर्ने माग राखेपछि वार्ता अड्किएको थियो। रास्वपा पक्षले भने नयाँ पार्टीका लागि ३० प्रतिशत हिस्सा अत्यधिक भएको बताउँदै अधिकतम १५ प्रतिशत मात्र दिन सकिने अडान लिएको थियो।

त्यसैगरी, सह-सभापति पद दिन नसकिने तर उपसभापति दिन सकिने प्रस्ताव पनि रास्वपाले अघि सारेको थियो। कुलमानले उक्त प्रस्ताव अस्वीकार गरेपछि वार्ता अनिर्णित बनेको थियो।

अब भने जेनजी अभियानीहरूको सहजीकरणमा फेरि संवाद सुरु हुन लागेको छ। स्रोतहरूका अनुसार दुवै पक्ष ‘पूर्ण विच्छेद’ होइन, ‘राजनीतिक निकास’ खोज्ने मनस्थितिमा छन्। आजको वार्ताले सहमतिको दिशा तय गर्ने कि फेरि असमझदारी गहिर्याउने—राजनीतिक वृत्तको नजर यहीँ केन्द्रित छ।

प्रतिक्रिया