नेपाली कांग्रेसमा ऐतिहासिक सहमति:दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति

ecopolinews.com

काठमाडौं — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरूबीच भएको गहन छलफलले अधिकांश पदाधिकारीमा सर्वसम्मति जुटाएसँगै कांग्रेसमा नेतृत्व परिवर्तनको नयाँ अध्याय सुरु भएको छ।

पार्टी स्रोतका अनुसार सभापतिमा गगन थापाको नाममा कुनै विवाद नरहेको र औपचारिक घोषणा मात्रै बाँकी रहेको छ। यससँगै कांग्रेसले पुस्तान्तरण, सुधार र समावेशी नेतृत्वको स्पष्ट संकेत दिएको विश्लेषण गरिएको छ।

उपसभापति र महामन्त्रीमा सहमति

छलफलबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसालको नाम टुंगो लागिसकेको छ। त्यस्तै, महामन्त्री पदमा गुरूराज घिमिरे र प्रदीप पौडेल सर्वसम्मत चयन भएका छन्। यी नामहरूले संगठन सुदृढीकरण र नीति–कार्यक्रममा निरन्तरतासँगै नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

सहमहामन्त्रीमा समावेशी प्रतिनिधित्व

सहमहामन्त्री पदमा पार्टीको विविधता र समावेशी चरित्र झल्किने गरी विभिन्न समुदाय र क्लस्टरबाट नेताहरू चयन भएका छन्। स्रोतका अनुसार सहमहामन्त्रीमा

फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर),

मुक्ता कुमारी यादव (मधेसी),

प्रकाश रसाइली (दलित),

डिला संग्रौला पन्त (महिला),

बहादुर सिंह लामा (आदिवासी जनजाति),

उदयशमशेर राणा (खस आर्य),

योगेन्द्र चौधरी (थारू) र

कर्ण बूढा (पिछडिएको समुदाय)

को नाम अन्तिम सूचीमा समेटिएको छ।

केन्द्रीय समितिको सूची छिट्टै

सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको पूर्ण सूची केही बेरमै सार्वजनिक गरिने तयारी भइरहेको छ। नेतृत्व चयनमा सहमतिका आधारमा अघि बढ्दा कांग्रेसभित्र लामो समयदेखिको आन्तरिक विवाद अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार विशेष महाधिवेशनबाट बनेको यो नयाँ नेतृत्वले संगठन पुनर्निर्माण, सरकार सञ्चालनमा प्रभावकारी भूमिका र आगामी निर्वाचनको तयारीमा कांग्रेसलाई नयाँ दिशातर्फ लैजाने विश्वास गरिएको छ।

प्रतिक्रिया