नुवाकोटको लिखु गाउँपालिका विकास र समृद्धिको नयाँ युगमा प्रवेश गर्दैछ। यस परिवर्तनको संवाहकका रूपमा वडा नम्बर ३ का जनप्रिय वडा अध्यक्ष सिताराम पुलामी मगर (राम मगर) को नाम अग्रपंक्तिमा आउँछ। बागमती प्रदेश सरकारबाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लिखु–३ का विभिन्न महत्त्वपूर्ण शीर्षकहरूमा उल्लेख्य बजेट विनियोजन हुनु समग्र गाउँपालिकाकै लागि एक ऐतिहासिक र खुसीको खबर बनेको छ। यो कुनै संयोग होइन, यो त वडा अध्यक्ष मगरले प्रदेश राजधानी हेटौँडासम्म पुगेर, दिनरात नभनी गर्नुभएको अथक प्रयास, कुशल समन्वय र दूरदर्शी नेतृत्वको प्रत्यक्ष प्रतिफल हो।
कुनै पनि क्षेत्रको विकास त्यहाँको नेतृत्वको दृढ इच्छाशक्तिमा निर्भर हुन्छ भन्ने कुरालाई वडा अध्यक्ष मगरले प्रमाणित गरिदिनुभएको छ। वडामा विकासका योजनाहरू भित्र्याउन उहाँले खेल्नुभएको नेतृत्वदायी भूमिका अत्यन्तै सह्रानीय र उदाहरणीय छ। जनताको हरेक सुख र दुःखमा सँगै उभिने एक सच्चा जनप्रतिनिधिका रूपमा उहाँले आफूलाई स्थापित गर्नुभएको छ। उहाँको यही निरन्तरको लगाव र गाउँको काँचुली फेर्ने अठोटले आम नागरिकमा चरम निराशाका बीच पनि एउटा बलियो आशाको किरण जगाएको छ। उहाँको शैलीले परम्परागत राजनीतिलाई चिर्दै विकासमुखी र परिणाममुखी पद्धतिको सुरुवात गरेको छ।
विशेष गरी वडा र समग्र पालिकाको आर्थिक तथा सामाजिक स्तर उकास्न उहाँले धार्मिक तथा सांस्कृतिक पर्यटन, कृषि, जलस्रोत र शैक्षिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ। लिखु क्षेत्र प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण भए तापनि उचित प्रचारप्रसार र लगानीको अभावमा ओझेलमा परेको यथार्थलाई उहाँले नजिकबाट बुझ्नुभएको छ। यी सम्भावनाहरूलाई उजागर गर्न प्रदेश सरकारको बजेट सुनिश्चित गराउनु उहाँको युगान्तकारी कदम हो। कृषिको आधुनिकीकरण, जलस्रोतको उच्चतम प्रयोगबाट सिँचाइ र खानेपानीको व्यवस्थापन, र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न उहाँले अहोरात्र खटिएर तयार पार्नुभएको विकासको गुरुयोजनाले अब लिखुको मुहार स्पष्ट रूपमा फेरिने निश्चित छ।
नुवाकोटको लिखु गाउँपालिका कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो। तर, हिजोका दिनमा यहाँको समग्र विकासको गति अपेक्षा गरेअनुसार अगाडि बढ्न सकेको थिएन। सडक सञ्जालको स्तरोन्नति, किसानका लागि बजार पहुँच र युवा लक्षित स्वरोजगारका कार्यक्रमहरू अझै पनि चुनौतीका रूपमा रहेका छन्। यस्तो अवस्थामा लिखुलाई एउटा यस्तो उर्जाशील र दूरदर्शी नेतृत्वको आवश्यकता छ, जसले वडाको सीमित स्रोतसाधनलाई परिचालन गरेर उत्कृष्ट नतिजा दिन सकोस् र प्रदेश तथा केन्द्र सरकारसँग सिधा पहुँच बनाएर ठूला आयोजनाहरू भित्र्याउन सकोस्। सिताराम पुलामी मगरले वडा नम्बर ३ मा देखाउनुभएको चमत्कार र उहाँको विकासप्रतिको भोकले सिंगो लिखु गाउँपालिकाको अवस्थालाई माथि उठाउने स्पष्ट आधार खडा गरेको छ। लिखुलाई नुवाकोटकै एक नमुना र समृद्ध गाउँपालिका बनाउने बृहत् योजनामा केन्द्रित छ। जनताको मन जितेर, उनीहरूको आवश्यकतालाई नीति र बजेटमा ढाल्न सक्ने उहाँको विलक्षण क्षमताले आम मतदाताको विश्वास जितिसकेको छ। जनताको अटल विश्वास र विकासको स्पष्ट खाकासहित अघि बढ्नुभएका राम मगर अब लिखु गाउँपालिकाको उज्यालो भविष्यको पर्याय बन्नुभएको छ।