काठमाडौँ । मडागास्करमा जेन-जी युवाहरूको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार भंग गर्ने घोषणा गर्नुभएको छ।
पानी र विजुलीको निरन्तर कटौतीविरुद्ध गत बिहीबारदेखि सुरू भएको आन्दोलन तीव्र बन्दै गएपछि राष्ट्रपति रजोएलिनाले सोमबार टेलिभिजनमार्फत सम्बोधन गर्दै सरकार भंगको घोषणा गर्नुका साथै नयाँ मन्त्रिपरिषद् गठनका लागि तीन दिनको समयसीमा दिनुभएको हो।
उहाँले नागरिकका अपेक्षाअनुसार सरकारले काम नगरेको स्वीकार गर्दै माफी माग्नुभएको छ। तर हजारौँ युवाहरू भने निरन्तर राष्ट्रपतिको राजीनामाको माग गर्दै सडकमा उत्रिएका छन्।
राष्ट्रसंघका अनुसार हालसम्मको आन्दोलनमा २२ जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। यसबीच राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कले प्रदर्शनकारीमाथि भएको बल प्रयोगप्रति कडा आपत्ति जनाउनुभएको छ। तर मडागास्करको विदेश मन्त्रालयले राष्ट्रसंघले प्रस्तुत गरेको तथ्यांकप्रति आपत्ति जनाएको छ।